Logo

सातगाउँले जात्रामा स्वर्णको रौनक



तेह्रौं साग खेलकुदमा कराँतेका कातातर्फका स्वर्ण पदकधारी प्रविण मानन्धरको जन्मथलो मच्छेगाउँ यतिबेला वर्षकै ठूलो चाड मानिने सात गाउँले जात्राको रौनकमा छ । सिंगै गाउँ विष्णुदेवीको रथ यात्राका लागि सिंगारिएको छ, घर आगन चिटिक्क पारिएका छन्। हरेक वर्ष जस्तै लुगाकपडा, अनेकौं परिकारसहितका खानपिन, नाचगान र पाहुनापासा आमन्त्रण जस्ता चटारोमा हरेक व्यक्ति मग्न छन् । यो वर्षको सातगाउँले जात्रालाई रमाइलो तरिकाले मान्न आफ्नो बुताले भ्याएसम्म सबै शक्ति लगाइरहेका छन् प्रविणका गाउँले ।

यो वार्षिक उत्सवलाई यसपल्ट प्रविणले आफ्नो सफलताको रंग थपेर महाउत्सव बनाइदिएका छन् । मच्छेगाउँ र आसपासका क्षेत्रमा जात्राको तयारी गरिरहेका प्रत्येकको कुराकानीमा प्रविणको सफलता नछुटने विषय बनेको छ । कराते खेलबारे बुझुन् वा नबुझुन्, प्रविणलाई नजिकबाट चिनुन् वा नचिनुन् यसअघि कहिल्यै प्रत्यक्ष सम्पर्कमा नआएका, मच्छेगाउँ बाहिर तथा विदेशमा समेत रहेका गाउँलेले सामाजिक संजालको माध्यम प्रयोग गर्दै ‘सिंगै गाउँको इज्जत बढाएको’ भन्दै बधाई दिइरहेका छन् । कतिलाई त उनलको सफलता सुनेपछि मात्र कराते भन्ने खेल हुन्छभन्ने थाहा भएको छ ।
मच्छेगाउँ अर्थात् अहिले राज्यले चन्द्रागिरी नगरपालीकाको वडा नम्बर ९ र कीर्तिपुर नगरपालिकाको करिब दुई तिहाई भेग ओगटेको क्षेत्र । राजधानीको दक्षिण पश्चिमी कुनामा रहेको एउटा काँठ वस्ती हो जो काँठका अन्य क्षेत्र जस्तै भौगोलिक रुपमा सत्ता संचालनको केन्द्रको नजिक तर अवसरको पहुँचको हिसाबले अत्यन्त टाढा रह्यो । गाउँमा विकासका बाछिटा भर्खरै पुग्न थालेको मच्छेगाउँमा कसैले आफ्नो करिअरको उपल्लोतह भेट्नु निकै कठिन र असामान्य घटना हुन्छ । कार्यथलो र घरको दूरी ओहोर दोहर गर्नकै लागि दिनको एक तिहाई समय खर्चिनु पर्ने र पारिवारिक तथा सामाजिक व्यवहार तिरको व्यवस्ताले सृजनात्मक सोचलाई मतिस्ष्ककै कुनामा थन्क्याएर राख्नु पर्ने आम काठँे जीवनशैलीबाट उम्किएर अन्य विधामा सफलता हासिल गर्नु फलामको चिउरा चपाउने काम भन्दा कुनै अर्थमा फरक हुँदैन काँठमा ।
त्यस्तो परिवेशको चट्टान फोरेर प्रविणले भेटेको सफलताले स्वाभाविक रूपमै फेस्टिभ मुडमा रहेका मच्छेगाउँलेलाई उत्साहित गराइदिएको छ । जात्रामा बाजाको पंक्ति लिएर रंगभर्ने मानन्धर परिवारकै एउटा केटोले यसपटक स्वर्ण जितेको खुसी जो थपिदिएको छ । खेल अवधि भरका लागि बन्द प्रशिक्षणमा गुरुको निगरानी सहित ललितपुरको हिमालय होटेलमा बसेका प्रविण र उनको परिवारलाई तारन्तार फोन आउँछ, ‘घर कहिले आउँछौ ?’
‘ममीले किन्देको गी’
अहिले २३ वर्षमा हिँडदै गरेका प्रविणको यो सफलता कुनै कागताली नभएर खेलौनासँग रमाउने उमेरमा खेलसँग रमाउन थाल्दाको नतिजा हो । कक्षा ४ मा पढदै गर्दा के मन लागेर हो, आमा पार्वतीले उनका लागि लुगाको व्यवस्था गर्ने क्रममा ‘गि’ (कराँते खल्दा लगाइने पोशाक) ल्याएर लगाइदिइन् । प्रविणलाई त्यो नयाँ लुगा यति मन पर्यो कि टोल छिमेकमा हिँड्दा त्यही गी लगाएर हिँड्न थाले । त्यतिबेलासम्म उनको दाजु देवराज र गाउँका अरु अग्रजहरु कराँते खेल्न थालिसकेका थिए । ति मध्ये कति त प्रशिक्षकसमेत भइसकेका थिए ।
तिनै मध्येका एक थिए कराँते खेललाई पेशागत रुपमै अगाडी बढाइरहेका छिमेकी वीरकृष्ण शाही । उनलाई लाग्यो, फुच्चे प्रविणले लगाएको गि सुहाएको मात्र छैन भविष्यमा राम्रै खेलाडी बन्ने छाँटको समेत छ । त्यही ठानेर वीरकृष्ण प्रविणको घरमा पुगे अनि दाजु र आमालाई भेटेरै भने, ‘यसलाई भोलीदेखि डोजोमा पठाइदिनु’ । यसरी प्रविणको स्वर्ण पदक सम्मको यात्राको प्रस्थान विन्दु त्यही आमाले दिएको गि बन्न पुग्यो ।
स्कुले सन्तानको खेलमोहलाई समयको बर्बादिमात्र देख्ने अधिकांश नेपाली परिवारको प्रवृत्ति विपरित बाबु देवरत्न सहितको सिंगो परिवार प्रविणलाई पठाउन सहजै तयार भयो । तर कराँते शारीरिक भिडन्तको खेल हो भन्ने बुझेकी उनकी आमा पार्वती त्यति सहजै मानिनन् । उनलाई लाथ्यो, कराँतेमा दुई खेलाडीबीच कुटाकुट हुन्छ, आफ्नो कान्छो, सानो र माया लाग्दो छोरो कुटिइन पनि सक्ने खेलमा कसरी पठाउनु ? लुगाको साटो गी किनिदिने पार्वतले नै जेठो छोरा देवराजलाई ‘भाइलाई खेल्न नलैजाऊ’ भनिन् । तर खेल मन पराइसेकका प्रविण र उनको दाजु तथा खेलमै लामो यात्रा गर्ने नियतीले पार्वतीको त्यतिबेलाको आग्रहलाई जितिदियो ।
त्यसपछि प्रविणको खेल यात्रा उनकै काका रविनसहित गाउँकै कराँते खेलाडीहरुको सक्रियतामा स्थापित ‘नरहरिपुर(मच्छेगाउँको पुरानो नाम) कराँते डोजो’मा सुरु भयो । खेलमा पूरै उर्जा प्रयोग गर्ने प्रविण प्रशिक्षकहरुले एक पछि अर्को गरी कराँतेको प्राविधिक दक्षतामा निपुर्ण बनाए । सँगसँगै गाउँकै स्थानीय स्कुलमा विद्यालय तहको शिक्षा पुरा गरेपछि कक्षा ११ मा पढदै गर्दा नेपाली सेनामा भर्ना हुन पुगेका थिए प्रविण । नेपाली सेनाले पनि उनको क्षमताको तत्काल पहिचान गरेर विभागीय खेल टोलीमा सामेल गरेपछि त्रिभुवन आर्मी क्लब पेशागत रुपमै र पूर्णकालिन कराँते खेलाडी बन्ने बाटो खुल्यो ।

 

प्रविणका प्रेरक र अग्रजहरू

 

 

टिम काता

 

जीवन संगी सविना जसलाई यतिखेर सर्वाधिक” मिस” गरिरहेछन् प्रविण

ठूल्दाईको प्रेरणा

सानैदेखि कराँतेमा आफ्नो प्रतिद्वन्द्वीका तुलनामा आफू बलियो महशुस गर्ने प्रविणको खेल करिअरका लागि परिवारको साथ सहयोगको कुनै कमी रहेन । स्कुलका शिक्षकहरु पनि पढाईको सामान्य स्तरलाई कायम राख्दै खेल जारी राखोस् भन्ने् आशय नै व्यक्त गर्थे । प्रविणले चिन्ता गर्नुपर्ने भनेको एउटै कुरा थियो, त्यो खेलमा एकपछि अर्को कौशल कसरी हासिल गर्दै जाने र सफलता चुम्ने । त्यो चिन्तालाई उनले निरन्तरको साधनाबाट निमिट्यान्न पारे ।
पसिना बगाउँदा जीऊ दुख्ने बाहेक अरु दुख्ख गर्नै परेन, प्रविणको भन्छन् । परिवारले स्रोत् साधन जुटाइदिएकै थियो । खेलमा हर पल साथ सहयोग र प्रेरणा दाजु देवराजको थियो । त्यही प्रेरणाले प्रविणको कराँते साधना कहिल्यै टुट्न दिएन ‘धेरै पटक थकाई

स्कूले प्रविण पोहोरको सातगाउँले जात्रामा प्रविण : यसवर्ष सोही जात्रा प्रविणका कारण थप रमाइलो भएको छ लागेर भोलीपल्ट बिहानैको प्रशिक्षणमा जान्न भनेर सुत्थेँ तर दाई बिहानै ओछ्यानमा आएर जसरी पनि उठाएर लैजानुहुँन्थ्यो’ । कतिपय बेला आफ्ना अग्रज खेलाडीहरुबाट आउने ‘खेलेर केही भएन’ भन्ने जस्तो निराशाको अभिव्यक्तिले उनलाई पनि समग्र भविष्यबारे झस्काउँथ्यो । त्यस्तो बेलामा पनि प्रविणको खेल साधनालाई टुटन दिएनन् दाजु देवराजले । त्यतिमात्र होइन, रंगशालाको प्रशिक्षणबाहेक घरमै पनि आफूले भ्याएसम्मको प्रशिक्षण दिएका थिए उनले । त्यसैले खेल जीवनको १४ वर्ष पछि पाएको सर्वाधिक माथिल्लो सफलताको मुख्य श्रेय प्रविणले दाजुलाई नै दिएका छन् ।
फाइटबाट कातातर्फ
कराँतेमा फाइट भिडन्तजन्य स्पर्धा खेल्दै अघि बढेका प्रविणलाई त्रिभुवन आर्मी क्लबको काता टिम पुरा गर्नुपर्ने अवस्थाले गर्दा काता तर्फ पु¥यायो। उनी सैनिक तालिममा रहेकै बेला टिम कातातर्फ खेलाडी आवश्यक भएकोले क्लबले उनलाई त्यतातर्फ मौका दियो । उनको भनाईमा कातामा पनि फाइटमा जस्तै कराँतेका सबै कलाहरु प्रहार, चाल, गति आदि सबै प्रयोग हुन्छ । ‘फरक यति हो फाइटमा आफू अघिल्तीर रहेको प्रतिद्वन्द्वीलाई कराँतेका कलाहरु प्रयोग गरी परास्त गर्नुहुन्छ भने कातामा ति कलाहरुलाई नृत्यमा जस्तै उत्कृष्ट तवरले प्रस्तुत गर्नु’ । यस्तोमा स्वर्ण पदक पाउनुमा पछिल्लो पटक पाएका राष्ट्रिय तथा अन्तर्राट्रिय एक्पोजरको ठूलो भूमिका रहेको उनी बताउँछन् । कातातर्फ आउनु अघि थुपै पटक हात खुटामा चोट बोकेर घर आएका छन् । त्यो देखकी उनकी आमा पार्वतीले आफूले गरेको कराँते भिडन्तहरु अहिलेसम्म हेर्न नसकेको उनी बताउँछन् । ‘सानो छँदा माया लागेर होला ममीले मैले प्रस्पिर्धीको कुटाई खाएको देख्नुपर्छ भनेर खेलको हेर्नु हुने थिएन । अहिले पनि कतिपय ठूला स्पर्धा हेर्न बोलाउँछु, आउनुहुन्न’ । तर आमाले आफ्नो खेललाई बेवास्ता भने नगरेको उनी बताउँछन
अब एशियाली खेल
दक्षिण एसियालीस्तरको यो सफलता पछि प्रविणले अब भेटन खोजेको टाकुरा एशियालीस्तरको खेल हो । त्यसलाई लागि सकेसम्मको बल बुद्धि लगाएर खेल साधनामा जुटने छन् अब । सफलताका लागि आम नेपाली खेलाडीले ब्यहोर्नु पर्ने स्रोत साधनको कमी भने तगारो बन्न सक्ने उनी बताउँछन् । ‘विदेश तिरको तालिममा हामीलाई भन्ने गरिन्छ, तिमिहरु खेलको उर्जा र गतिको हिसाबले अति राम्रा छौ र प्राविधिक पक्षको हिसाबले त्यति नै कमजोर’, स्तरीय प्रशिक्षणको अभावले यस्तो कुरा निम्त्याएको उनी बताउँछन्। विदेशी प्रशिक्षक भित्र्याउँदाको एउटा समस्याबारे भने गहकिलो अनुभूति गरेका रहेछन् । ‘विदेश प्रशिक्षक आउँछन्, हामी खेलाडीहरु भने भाषाको समस्याकै कारण हुनसक्छ, खुलेर आफ्ना समस्या बताउन पनि उनीहरु सक्दैनन् र परणाम, खेलमा सुधार्नुपर्ने पक्ष जस्ताको तस्तै रहन्छ’ ।
कहिले भेटने ?”
१४ वर्षे साधनापछि पाएको सफलताबापत सबैठाउँबाट बधाईको ओइरो लाग्दै गरेको यतिबेला प्रविणकी जीवनसंगी सविना यतिबेला उनीसँगै छैनन् । हाल जापानमा अध्ययनरत रहेकी सविनालाई सम्झँदै प्रविण भन्छन्, उ यहाँ भएकी भए कति खुसी हुन्थी होली ? । नियतिले प्रविणको खेल रंगशालामा प्रत्यक्ष हेर्ने अवसर दिएन, र उनले टेलिभिजनमै प्रविणको खेल हेरिन् । खेल जितेर रिंगबाट उत्रिने वित्तिकै फोन गरेर खुसीको खबर सुनाएका प्रविणको मन भरंग हुने गरी उताबाट सविनाको सन्देश आयो, ‘कहिले भेटने ?’

प्रतिक्रिया दिनुहोस्