Logo

सुलह कराए रंगशाला



मानिसहरुले आआफ्नो जात भनेनन् । छालाको रंग भनेनन् । भूगोल भनेनन् । राजनीतिक विचार पनि भनेनन् । अरु त अरु हलपल छायाँ जस्तै आफूलाई पछ्याइरहने यावत तनावको विषय सबै बिर्सिए । सबैका मनमा यिनै कुरा छाइरह्यो ‘५१ स्वर्ण, फुटबलको उपाधि, गौरिकाको चार स्वर्ण र यस्तै खुसीका खबरहरू……’
दक्षिण एसियाली खेलकुदको समापन हुन नपाउँदै प्रधानमन्त्रीबाट खुसीमात्र प्रकट भएन विजेता खेलाडीलाई बालुवाटारमा निमन्त्रणा समेत भयो । युवा, अर्धयुवा, वृद्ध र वयो वृद्ध सबै उमेरका नेताहरुले फेसबुक ट्वीटरबाट खेलाडीहरुलाई हार्दिक बधाई दिए । यो सबैको जगमा भने अभावग्रस्त अवस्थामा पनि खेलाडीले गरेको माथिल्लो स्तरको साधना थियो । खेलेर केही हुँदैन भन्ने खालको चटानी निराशालाई पिपलको जराले जस्तै विस्तार फुटाएर आफ्ुलाई उभ्याएका थिए खेलाडीहरुले । खेल जितेपछि उम्रिएका समाचार शीर्षकले यसलाई राम्रै गरी पुष्टी गरिरहेका छन्
फलस्वरुप मंगलबार दशरथ रंगशालाको समापनमा देखिएको झिलिमिलीले नेपालीको मनभित्रै उज्यालो बनाएको थियो । रंगहरु मानव निर्मित यन्त्रबाट निकिस्ए पनि हेर्ने र सुन्नेका मुहारमा प्राकृतिक रंगकै आभा देखिन्थ्यो । अनेक दुःखले घेरिएका नेपालीलाई खुसी हुने एउटा त कुरा निस्कियो…… सबैको निश्कर्ष यही रह्यो । सागमा खेलाडीहरुको प्रस्तुति अनुभूत गर्ने नेपालीलाई अर्को निश्कर्षमा पुर्याइदिएको छ, ‘खेले केहि त हुने रहेछ‘, । यस्तो दखिँदैछ जसरी भारतले सन् १९८३ को क्रिकेट विश्वकप जितेपछि सबै भारतीयमा त्यो खेलप्रतिको मोह मात्र जगाएन सिंगो देशलाई क्रिकेटले यसरी जोडिदियो की आज त्यो देशको गर्व गर्न लायक कुराहरु मध्येको एक क्रिकेट समेत बन्ने पुगेको छ ।
यस्तै नेपालीमा पनि खेल्ने काम भनेको पढाई विग्रेका केटाकेटीको हो भन्ने सोचाइलाई परिवर्तन गर्न र खेलमार्फत विविध आग्रहमा विभाजित नेपाली मनलाई जोडन १३ औं साग खेलकुदले ठूलै मद्दत गर्ने देखिन्छ । अहिलेको परिणामको पुँजीलाई जोगाएर सृदृढ खेलकुदको नाफामा परिणत गर्न सरकार र खेलसम्वद्ध निकायहरु सफल भए भने।
पदकको गणना र आतिसवाजीको रमाइलो बाहिरी आवरण हुनु भित्रको खास सुखद पक्ष भनेकै यही हो किन नश्ल, वर्ण, लिंग, भूगोल, विचार आदि अनेक तरहले विभाजित र विवादित नेपाली मनहरुलाई एक ठाउँमा ल्याउन यसपटकको साग खेलकुद सफल भएको छ । नेपालीहरुले एक अर्कालाई बधाई दिनुपर्ने मुख्य कारण यही हो । यसबेला भारतका प्रशिद्ध कवि हरिवंश रायवच्चनले आफ्नो कालजयी कविता मधुशालामा लेखेको एउटा पंक्ति ‘कलह कराए मन्दिर मस्जिद, सुलह कराए मधुशाला’लाई नेपाली सन्दर्भमा भन्न सकिन्छ । ‘……सुलह कराए रंगशाला’

प्रतिक्रिया दिनुहोस्