Logo

विपनाको शिलान्यास आज




मेरा अरु सपना त पुरा होलान् नहोलान् तर घरको कुनै कुनामा एउटा सानै कोठा किन नहोस्, पुरानो शैलीको एउटा मञ्चमा साधक बसोस् र गीत गाइरहोस् । त्यसो गर्न गाह्रो भए कम्तिमा एउटा भ्वाइलेन क्लास चलाइदिनु, यसो भयो भने मरेपछि मेरो आत्माले शान्ति पाउने छ ।

कालजयी गायक नारायण गोपालले आफ्ना जीवनको अन्तिम दिन तिर वीर अस्पतालको वार्डमा पत्नी पेमला र अरु सुभेच्छकसँग व्यक्त गर्नुभएको एउटा सानो सपनाले ३० वर्ष पछि जग हालेको छ । नारायण गोपाल र पेमलाको कमाई, मेहनत, सृजना र सपना बोकेर बसेको महाराजगञ्ज स्थित उनको घर जो अहिले नारायण गोपाल संगीत कोषमा परिणत भएको छ । यही घरको पुर्व तर्फको खाली स्थानमा नारायण गोपाल पेमला सुरमय गीत गंगा नामक चार तले भवन बन्दैछ जहाँ सम्पूर्ण रुपमा नारायण गोपालको संगीत सपनालाई फुलाउने र फलाउने काम हुने छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बिहीबार संयुक्त रुपमा यो भवनको सिलान्यास गरेका छन् । झन्डै छ करोड रुपैया लागत अनुमान गरिएको भवन बने पनि नारायण गोपाल आफैंले बनाएको हालको घर भन भत्काइने छैन । प्राविधिकहरुको त्यो घरको क्षेत्रलाई समेत समेटेर ठूलो घर बनाउने प्रस्तावलाई इन्कार गर्दै कोषले भन्यो, ‘नारायण गोपालको अन्तिम नासोको रुपमा रहेको यो घर अझ बढी महत्वपूर्ण छ’ । यसरी संगीत अनुरागीहरुले एउटै परिसरमा नारायण गोपालको सपनाको घर र परिश्रमको घरलाई एकै पटक देख्न सक्ने अवस्था सृजना भएको छ । कोषकी अध्यक्ष उषा शेरचनको चाहना त्यो घरलाई अर्को नारायण गोपाल स्मृति दिवसमा भवन निर्माण सम्पन्न गरेर उद्घाटन गर्न पाउँ भन्ने छ ।

सपना । सम्भवतः विश्वभर कै साहित्य सृजनाका प्रमुख स्रोत् मध्ये पर्छ । सपनाका विषयमा थुपै पंक्तिहरु कोरिएका छन्, विश्वभर । त्यस्तै गीतहरु गाइएका छन् । नारायण गोपालले पनि मानिसका कतिपय सपना मरण पछि पनि पुरा नभएको अवस्थालाई लिएर बेजोड शब्द प्रयोगका साथ लेखिएको गीत गाए ‘‘विपना नभई बाँची दिने म भित्रका प्यारा सपना…..म मरे पनि रही दिइने मेरा प्यारा प्यारा सपना …..’’ । नारायण गोपाल बितेपछि हरेक वर्ष आउने मंसिर १९मा उनका सपनाहरुबारे चर्चा हुन्थ्यो र पृष्ठभूमिमा यही गीत बज्थ्यो ।https://www.youtube.com/watch?v=K12_lBQtg8E

तर नारायण गोपालका सबै सपना पुरा गर्न उहाँकी पत्नी पेमलाकै सक्रियतामा आफूहरु लागि परेको बताउनुहुन्छ, नारायण गोपाल संगीत कोषका प्रशिक्षक राजकुमार श्रेष्ठ । नारायण गोपालले देखेका सपना मध्ये उहाँले धेरै स्थानमा व्यक्त गरेको ‘राम्रो भ्वाइलेन बजाउने मान्छेको कमी’लाई पुरा गर्न कोष स्थापना काल देखि नै लागि परेको थियो । अहिले देशका विभिन्न भागमा नारायण गोपालको सपना पुरा गर्न भ्वाइलेन सिकाएका कतिपय संगीत कर्मीहरु साधनरत छन् । हुन पनि नारायण गोपाल आफैंले संगीत भरेका वा उहाँको इच्छा अनुरुप संगीतकारले कम्पोज गरेका धरै जसो सृजनामा भ्याइलेनको अर्केष्टा प्रयोग भएको छ । नारायण गोपालले भ्याइलेन वादनको साधनामार्फत नेपाली संगीतमा धेरै थोक गर्न सकिने उद्गार समेत धेरै पटक व्यक्त गर्नुभएको उहाँसँग संगत गरेका कतिपय संगीतकर्मीहरु बताउनु हुन्छ ।

सन्तान नभएकोमा नारायणगोपाललाई सबैले विभिन्न सल्लाह सुझाव दिइरहन्थे । धेरैले उहाँलाई धर्म पुत्र राख्न सल्लाह दिन्थे । तर उहाँ स्वयंलाई भने कसैलाई धर्म पुत्र बनाउनु भन्दा एउटा संगीत विद्यालय खोलेर विपन्न र असहायलाई संगीत सिकाउने मनोकांक्षा थियो ।
जीवनको अन्तिम प्रहरमा वीर अस्पतालको आइसीयुको बेडमा रहँदा पनि नारायणगोपालले आफ्नी धर्मपत्नी पेमला गुरुवाचार्यलाई यही कुरामा जोड दिनुभएको थियो नारायण गोपालले । जीवनभरिको सिंगो अनुभव उपलब्धि र उहाँकै अन्तिम इच्छाको प्रतिरुप नारायणगोपाल संगीत कोष भएको कुरा पेमलाले संगीत पत्रिका बागीनामा “नारायणगोपालसंगका मेरा बीस बर्ष” शीर्षक लेखको अन्तिम हरफमा उल्लेख गर्नुभएकोछ ।

प्रशिक्षक श्रेष्ठका अनुसार कोषले स्थापना काल देखि नै पेमला गुर्वाचार्यको सक्रियतामा भ्याइलेन सिक्न चाहनेहरुको खोजी भएको थियो । तर त्यो २०५० साल तिर मात्र गएर पुरा हुने अवस्था बन्यो । भ्याइलेन कसलाई सिकाउने भन्ने कुरामा नारायण गोपालका चीर सहयात्री अर्का संगीत लेजेन्ड अम्बर गुरुङको मतो थियो, पुगिसरी आएको वर्गलाई सिकाउँदा भ्वाइलेन शौखले मात्र बजाइने हुन जान्छ । जसले गर्दा नेपाली संगीतलाई चाहिएको बेला र चाहिएको स्तरमा त्यसले दिँदैन । तसर्थ जीविकाका लागि संघर्षै गर्नुपर्ने अवस्थाका लाई सिकाउँदा उनीहरुले पेशागत रुपमै अंगाल्न सक्ने र अब्बल साधकको समेत जन्म हुन सक्ने मत पनि गुरुङको रहेको श्रेष्ठ बताउनु हुन्छ । ‘यसै अनुरुप बालमन्दीरका बच्चाहरुलाई ल्याएर भ्याइलेन सिकाउन थालियो । पछि अरु तिरबाट पनि सिक्न आए’


नारायण गोपालले देखेको अर्को ठूलो सपना भनेको स्तरीय अर्केष्ट्राको थियो । जुन अहिलेसम्म पनि उहाँका गीत भने जस्तै विपना नभई बाँचिरहेका छन् । कारण स्पष्ट छ अर्केष्ट्राका लागि साधक र प्राविधिक ज्ञान मात्र भएर पुग्दैन, राम्रै आर्थिक स्रोत् समेत जुटाउनु पर्छ । त्यो जुटाउन अहिले कोषको आर्थिक क्षमताले सम्भव छैन । आशा गरौं त्यो सपना पुरा हुने दिन पनि धेरै टाढा छैन ।

प्रतिक्रिया दिनुहोस्