Logo

एसईइ दिन पाइएन, दुखि नबनौं : प्रम



काठमाडौ : प्रधानमन्त्री केपि शर्मा ओलीले बालबालिकाहरुलाई यस वर्ष एसईइ परिक्षा दिन नपाएकोमा दुखी नबन्न आग्रह गर्नुभएको छ ।  राष्ट्रिय बाल दिवसको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले  यो आव्हान गर्नुुुभएको हो ।               सन्देशको पूर्ण पाठ:

राष्ट्रिय बाल दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु । बाल अधिकार संरक्षण एवं प्रवद्र्धनमा क्रियाशील सम्पूर्ण दिदीबहिनी, दाजुभाइ, नागरिक समाज, राजनीतिकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु लगायत सबैलाई यस अवसरमा हार्दिक शुभकामना दिन चाहन्छु ।
यस वर्ष हामीले ‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ देशव्यापी रुपमा बाल दिवस मनाउँदै छौं । सरकारले बालबालिकाको हक, हित र उनीहरुका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ । नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९, बालबालिका सम्बन्धी अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौतालाई अनुमोदन गरी बालबालिकाको संरक्षण तथा बाल अधिकारको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता जनाएको छ । सरकार यस प्रतिवद्धताका कारणले मात्र होइन, बालबालिका देशको सवल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित छ ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रुपमा स्थापित गरेको छ । जस अनुरुप सरकारले बाल अधिकार सम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । चालु पन्ध्रौं आवधिक योजनाले बाल अधिकार सुनिश्चित बालमैत्री समाजको परिकल्पना गरी कार्यान्वयनमा अग्रसरता लिएको छ । अभिभावक गुमाएर अनाथ भएका र आधारभूत आवश्यकता पूरा हुन नसकी सडकमा बेवारिसे जीवन विताइरहेका बालबालिकाको राज्यले संरक्षकत्व ग्रहण गर्ने काम हामीले थालनी गरेका छौं । ‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियान अन्तर्गत यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने नीति सरकारले लिएको छ ।
बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने यस सरकारको प्रतिबद्धता छ । बालबालिकाको शारीरिक, मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोग सहितको स्तरीय शिक्षाको अधिकार, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने यस सरकारको नीति छ । स्वस्थ्य रहन पाउने तथा उपचारको अधिकार, शारीरिक मानसिक दुर्बलता भएका बालबालिका समेतको भेदभाव बिरुद्धको समानता र समन्यायको अधिकार रक्षा, शारीरिक र मानसिक विकासका लागि खेलकूद र मनोरञ्जनको अधिकारजस्ता बालअधिकार र बाल अधिकारसँग सम्बन्धित सम्पूर्ण अधिकारहरुको प्रत्याभूति अहिलेको सरकारका प्रतिवद्धता हुन् । बालबालिकाहरुका लागि सुरम्य पारिवारिका–सामाजिक वातावरण निर्माण गर्न संघीय सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । त्यसका लागि सबै तहका सरकार, राष्ट्र सेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकासका साझेदार, निजी क्षेत्र तथा सञ्चारकर्मी सबैको रचनात्मक सहभागिता तथा सहयोगको अपेक्षा गर्दछु ।
बाल दिवसको यस अवसरमा म आम अभिभावकहरुमा अपिल गर्दछु– बालबालिका कागजका त्यस्ता खाली पाना हुन्, जहाँ जे लेख्यो त्यही पहिलो अक्षर बन्दछ । बालबालिका सेतो कपडा हुन्, तिनमा जस्तो रंग लगायो जीवनको अन्त्यकालसम्म नमेटिने त्यस्तै छाप बस्न पुग्दछ । तसर्थ सिर्जनाका आधारभूमि हाम्रा यी बालबालिकामा सकारात्मक, सवल र जीवनमूखी रंग भर्न राज्य मात्र होइन, अभिभावक, परिवार र समाजले आफ्नो नैतिक आचरण मार्फत् सकारात्मक ज्ञान सम्प्रषेण गर्नु पर्दछ । यस अवसरमा समस्त अभिभावकहरुलाई यसतर्फ दायित्वशील हुन म आह्वान गर्दछु ।
राष्ट्रिय बाल दिवसको यस अवसरमा प्यारा भइबहिनीहरुमा पनि म विशेष आह्वान गर्दछु– तपाईंहरु देशको सुदूर भविष्य हुनुहुन्छ । यसअघिको पुस्ताले लामो संघर्ष गरेर देशमा रहेको निरंकुश शासन हटाई जनतालाई नै सार्वभौमसत्ता सम्पन्न बनायो । तपाईंहरुको पुस्तालाई कस्तो देश चाहिन्छ, त्यस अनुरुपका परिकल्पना र कामको थालनी अहिलेको सरकारले गरिरहेको छ । देशभित्र रहेका विकृति, पछौंटेपन हटाउने, देशलाई एउटा स्वच्छ, समृद्ध, आधुनिक, सभ्य र हाम्रा पूर्खाले कल्पना गरे अनुरुप ‘सर्वे भवन्तु सुखीनः’ (सबै सुखी होउन्)को गन्तब्यमा पु¥याउन हामी अग्रसर छौं । हामीले सामाजिक न्याय र समनता सहितको विकासलाई राष्ट्रको आकाङ्क्षा बनाएका छौं । समृद्ध नेपाल सुखी नेपालीको यस आकाङ्क्षा मानव जातिको आकाङ्क्षा हो, हाम्रो देशको आकाङ्क्षा हो । र, यो तपाईंहरुको भविष्य हो । यसको सफलता तपाईंहरुको जीवनको सफलतासँग गाँसिएको छ । तपाईंहरुले आजको समयलाई सही सदुपयोग गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्नु पर्छ । नकारात्मक र हानीकरक विचार, प्रबृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनु पर्छ । आउँदो पिंढीको सुन्दर भविष्य निर्माण गर्ने यस अभियानमा तपाईंहरुको सचेत सहभागिता रहने छ भन्ने मेरो विश्वास छ ।
संसार अहिले कोभिड–१९ को महामारीबाट आक्रान्त छ । हाम्रा बालबालिकाको जीवन र पठनपाठनमा यसले गम्भीर असर पारेको छ । भाइबहिनीहरुले यस वर्षको एसईई परीक्षामा प्रत्यक्ष संलग्नता जनाउन पाउनु भएन । यसबाट दुःखी नहुन म सबैमा आह्वान गर्दछु, यस महामारीको सामना गरेर तपाईंहरुले जीवनको परीक्षा सफलतापूर्वक उत्तिर्ण गर्नु भएको छ । कोभिड–१९को महामारी बिरुद्ध सरकारले अघि बढाएका प्रयासले यस विपद्लाई परास्त गर्दै हामी हाम्रा बालबालिकाहरुको भविष्य सुरक्षित गर्ने छौं । संकटको यस घडीमा विद्यमान प्रणालीमा परेको नकरात्मक प्रभावलाई नयाँ सम्भावनाको द्वारसम्म पु¥याउनेगरि बालबालिकाका अधिकार र सुरक्षामा सक्रिय रहन सम्पूर्ण संयन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था, नागरिक समाज सबैमा आह्वान गर्दछु ।
अन्त्यमा, बालबालिकाको अधिकार र सुरक्षामा दृढ संकल्प र ऐक्यवद्धताका लागि सबैमा आग्रह गर्दै राष्ट्रिय बाल दिवस २०७७ को सबैमा शुभकामना ब्यक्त गर्दछु ।
२९ भदौ २०७७

 

प्रतिक्रिया दिनुहोस्