Logo

महर्षीदेखि माछासम्म, कृष्णदेखि कमलकोटीसम्म



रामप्रसाद धिताल

चलनचल्तीको पात्रोअनुसार आषाढशुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ । यस दिन चेलाहरूले आफ्ना गुरुको पूजा गर्ने वा सम्मान गर्ने चलन छ । गुरुपूर्णिमामा अहिले गरिनेजस्तो विधान भने वेद, पुराण आदि शास्त्रमा पाइँदैन । स्वाद्ध्यायशालाबाट प्रकाशित ‘वैदिक हिन्दु धर्मसंस्कृति’ पुस्तकका अनुसार व्यासपूजा र गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको हो । मठमा एकत्रित भएर गुरुको पूजा गरी चार महिना (चर्तुमास) भरि सँगै बस्ने कर्मको अङ्ग हो । निर्णयसिन्धु र धर्मसिन्धुमा पनि यसको उल्लेख छ ।

मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव अर्थात् माता–पिता–गुरुलाई देवतासरह मान्ने होऊ । यो वेदको उपदेश हो । शास्त्रज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा पनि गुरु ठूला हुन्छन् भन्ने वैदिक मान्यता छ । वैदिक परम्परामा व्यक्तिको चरित्रनिर्माण र ज्ञानप्राप्तिमा मातापिता र आचार्यको मुख्य भूमिका रहने मानिएको छ । मनुस्मृतिअनुसार जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ । ‘जसले शास्त्रको निक्र्यौल गर्छ, अरुलाई आचरणमा राख्दछ र स्वयं पनि आचरणको पालना गर्छ, त्यो नै गुरु (आचार्य) हुन्छ’, स्मृतिमा भनिएको छ । व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भन्ने गरिन्छ ।

गु शब्दस्त्वन्धकारः स्याद् रु शब्दस्तन्निवारकः, अन्धकार निरोधित्वाद् गुरुरित्यभिधीयते । गु– अन्धकार रु– नाश गर्ने अर्थात् व्यक्तिलाई अन्धकारतिर जानबाट रोकी ज्ञानको उज्यालो छर्ने व्यक्ति नै गुरु हुन् । अर्को अर्थमा निष्काम भावमा विद्याप्रदान गर्ने व्यक्तिलाई नै गुरु भनिन्छ । हृदयको अन्धकार हटाउने विद्या मात्र विद्या हो । विद्यामा पारङ्गत गराउने गुरु हुन् र गुरुको अनादर गर्नेको विद्या स्थिर रहँदैन भन्ने शास्त्रको मान्यता छ । गुरुको मार्गदर्शन विना पुस्तकको आधारमा प्राप्त गरिएको ज्ञानलाई शास्त्रकारहरू मान्यता दिँदैनन् । एकै अक्षर किन सिकेको नहोस् गुरुको सम्मान गर्दैन भने उसलाई पशुभन्दा पनि नीच मान्नुपर्ने चाणक्यको भनाइ छ ।

शास्त्रमा अनेक थरीका गुरुबारे बताइएका छन् । ज्ञानप्राप्तिका लागि अहोरात्र तपस्यामा लीन हुने ऋषिमहर्षिहरूलाई गुरु मानिएको छ । ब्रह्मा, विष्णु, महेश्वर यी त्रिदेवलाई गुरुकै कोटीमा राखिएको छ । गीताज्ञान दिने भगवान् श्रीकृष्णलाई जगतकै गुरु (कृष्णं वन्दे जगद्गुरुम्) मानिएको छ । कतिले पौराणिक ग्रन्थका रचयिता वेदव्यासलाई गुरु मान्दछन् ।
बृहस्पति र शुक्र क्रमशः देव र दैत्यका गुरु मानिएका छन् । तन्त्रमा पनि गुरुका विविध भेद बताइएका छन् ।

प्रकृतिका गुरुहरु
श्रीमद्भागवत महापुराणको एकादश स्कन्धको सातौं, आठौं र नवौं अध्यायमा २४ गुरुहरूको प्रसङ्ग आउँछ । ‘तपार्इँ विद्वान् भएर पनि अभिमानरहित हुनुहुन्छ कसरी ?’ राजा यदुको प्रश्नको जवाफमा अवधूत दत्तात्रेयले आफूले अनेक प्रकारका गुरुहरूको आश्रय लिएको जवाफ दिएका छन् । भागवत वैष्णव ग्रन्थ भएकाले सन्यास धर्मअनुकुल गुरुहरूको व्याख्या गरिएको छ तर पनि ती सन्दर्भहरू वर्तमान समाजका लागि सममेत उपयोगी छन् । दत्तात्रेयले भनेका छन्, ‘जसलाई मैले गुरु मानेको छु उनले मलाई प्रत्यक्ष उपदेश त दिएका हैनन् तर आफ्नो बुद्धिअनुसार उनीहरूको व्यवहारबाट शिक्षा ग्रहण गरेको हुँ ।’ (श्रीमद्भागवत महापुराण द्वितीयखण्ड, अनु. पं. वासुदेव भट्टराई, साझा प्रकाशन ते.सं. २०६४)

दत्तात्रेयले पृथ्वी, वायु, आकाश, जल, अग्नि, चन्द्रमा, सूर्य, परेवा, अजिङ्गर, समुद्र, पतङ्ग, भमरा, हात्ती, मधुहारी, हरिण, माछा, पिङ्गला, वेश्या, कुरर पक्षी, बालक, कुमारी, बाण बनाउने व्यक्ति, सर्प, माकुरा र कमलकोटी गरी २४ वटालाई गुरु मानेका छन् ।

आफूमाथि जस्तै आघात उत्पात भएपनि स्थिर रहने र कसैसँग साटो नफेर्ने पृथ्वीको परोपकारी गुणबाट शिक्षा ग्रहण गरेको दत्तात्रेयको भनाइ छ । आफ्नो शरीरको अहं नगरी आत्माको रूपमा सम्झन वायुबाट शिक्षा पाएको उनको तर्क छ । विभिन्न पदार्थको मिश्रणबाट बनेको मेघले घेरिएपनि वा ग्रहहरूमा विभिन्न उल्का, उत्पात भइरहँदा पनि संधै अविचलित रहने आकाशलाई अर्को गुरु मानेका छन् उनले । स्वभावैले शुद्ध आनन्दको अनुभूति गराउने तीर्थका रूपमा पवित्र भएर रहने र गङ्गा आदि तीर्थको नामैले पनि आनन्द दिने ‘जलजस्तै बन्न सकूँ’ भन्ने उनको कामना छ ।
जसरी अग्निमा कुनै वस्तु पर्दा एकैछिनमा भष्म हुन्छ अर्थात् पाएको वस्तु संग्रह गरेर राख्दैन । त्यस्तै ज्ञानी मानिसले प्रारब्धले परिएको अनेक विषयको भोग गरेको भएपनि मन इन्द्रियलाई आफ्नो वशमा राखेर विषय दोष आउन दिनुहुँदैन भन्ने दत्तात्रेयको भनाइ छ । गतिको पत्ता लाग्न नसक्ने कालको प्रभावले चन्द्रमाको कला बढ्ने घट्ने देखिन्छ तर चन्द्रमण्डल त घट्ने बढ्ने होइन । जन्मदेखि मृत्युसम्मका अवस्था शरीरको हो आत्माको होइन भन्ने शिक्षा चन्द्रमाबाट मिल्ने उनको कथन छ ।

आफ्ना किरणले पृथ्वीको जललाई तानेर पुनः पृथ्वीमै बर्साउने सूर्यजस्तै ज्ञानीले पनि इन्द्रियहरूले विषय ग्रहण गरेपनि परेका बेला त्यसलाई त्याग गर्न सक्छन् । आफ्ना सन्तान पासोमा परेको देख्दा देख्दै पनि आफू पनि पासोमा पर्ने परेवा कुटुम्बको पालनपोषणमा अत्यन्त आशक्त बन्दा गृहथमै फसिरहने ।

सुखदुःखको रहस्य बुझ्ने पुरुषले अजिङ्गरले जस्तै जे भेटिन्छ, उदासीन नभई खाएर जीवन निर्वाह गर्नुपर्ने सन्देश प्रवाहित गरेका छन् दत्तात्रेयले । कर्मअनुसारको फल नपाइएकै खण्डमा पनि शोक नगरी जो मिल्छ, त्यसेमा रमाउनुपर्ने धारणा छ । ज्ञानीले सांसारिक वस्तु पाउँदैमा प्रफुलित हुने वा नपाउँदा दिक्दार हुन हुँदैन । त्यसैले वर्षामा नदीहरू मिसिएपनि नबढ्ने, ग्रीष्मको प्रचण्ड घामले नसुक्ने समुद्रजस्तो एकनाशको हुनुपर्ने तर्क छ उनको ।

विद्यामा पारङ्गत गराउने गुरु हुन् र गुरुको अनादर गर्नेको विद्या स्थिर रहँदैन भन्ने शास्त्रको मान्यता छ । गुरुको मार्गदर्शन विना पुस्तकको आधारमा प्राप्त गरिएको ज्ञानलाई शास्त्रकारहरू मान्यता दिँदैनन् । एकै अक्षर किन सिकेको नहोस् गुरुको सम्मान गर्दैन भने उसलाई पशुभन्दा पनि नीच मान्नुपर्ने चाणक्यको भनाइ छ ।

स्वादको लोभमा पर्दा रात्रिका समय हुनै लाग्दा कमलको फूलभित्र बन्दी भएर मृत्युवरण गर्न पुग्छ । त्यस्तै विषयभोगमा अल्मलिएर मानिस पनि मृत्युको मुखमा पुगिरहेको हुन्छ । अर्कोतर्फ भमराले भिन्नभिन्न फूलबाट सार लिएजस्तै शास्त्र पढेर सार ग्रहण गर्न सक्नुपर्छ । जसरी मधुमक्षिका अर्को दिनका लागि संग्रह गर्ने नाममा आफैं नष्ट हुन्छ मानिसले पनि अनावश्यक सञ्चय गर्यो भने त्यसैको चिन्ताले नष्ट हुन्छ ।त्यसैले मधुमक्षिकालाई गुरु मानेका छन् दत्तात्रेयले । अनावश्यक स्त्रीमोहले दुदर्शा भोग्नुपर्छ भन्ने हात्तीको सन्दर्भबाट प्रष्ट हुन्छ । हात्तीको शिकार गर्नेहरू खाल्डो खनी घाँसले भरी नक्कली हात्तिनी बनाइदिन्छन् । कामान्ध हात्ती खाल्डोमा खसेर मर्छ । स्त्रीलम्पट हुनु मृत्युको कारक हो भन्ने सन्देश हो यो ।

माहुरीले पछिका लागि भन्दै सञ्चय गरेर राखेको मह अर्कैले खाइदिन्छ । त्यसैले धेरै संग्रह गर्दा अरुले नै त्यसको उपयोग गरिदिन्छन् । अर्कोतर्फ माहुरीले संग्रह गर्दा नै मानिसहरूले त्यसको

 

उपभोग गर्न पाए । मह काढ्ने मानिसको प्रसङ्गबाट दत्तात्रेयले सिकेको तथ्य हो, आफ्नो धन परोपकारमा खर्च गर्नू । शिकारीको गीत सुन्दा लठ्ठ परेको हरिण मारिएको प्रसंग सांसारिक मनोरञ्जनले एकक्षण त आनन्द आउँछ । मुक्तिको बाटो मिल्दैन । मासुको लोभ गर्दा माछा त्यसभित्र रहेको फलामे अंकुशले छेडिएर मर्छ । स्वाद वशमा परेर मानिसहरूको गति पनि त्यस्तै हो । त्यसैले जिब्रोलाई वशमा लिन सकिए अरु इन्द्रिय कब्जामा लिन सकिन्छ भन्ने उनको सन्देश छ ।


अन्य गुरुको सन्दर्भमा पुरुषहरूलाई आकर्षित गरी वेश्यावृत्ति गर्ने पिङ्गलाको कथा उल्लेख छ, आठौ अध्यायमा । शरीर त आखिर केही होइन, खाली हाड, मासु र छालाको थुप्रो हो । शुभकर्म गरेर जीवनलाई भगवान्को भक्तिमा लगाउनुपर्छ भन्ने सोच उत्पन्न भएको सन्दर्भ देखाएर दत्तात्रेयले वेश्यालाई गुरु मानेका छन् । एक पक्षीले अर्को पक्षीले चुच्चोमा च्यापेको मासुको टुक्रा झार्न खुबसँग ठुग्यो । जबसम्म चुच्चोबाट मासु झरेन ठुंगिरह्यो । जब मुखबाट मासुको टुक्रा फालिदियो तबमात्र सुख पायो । यसबाट संग्रहले दुख हुँदोरहेछ भन्ने शिक्षा पाए उनले । मान–अपमान घर–परिवारआदिको चिन्ता नभएको बालक आफैंभित्र रमाएजस्तो आफ्नै आत्मासँग मग्न हुनुपर्ने उनको भनाइ छ । कुमारीको प्रसङ्गले आफ्नो उद्देश्यप्राप्तिका लागि उद्यत रहनुपर्छ भन्ने सिकेको सन्दर्भ छ । यस्तै बाण बनाउने व्यक्ति आफ्नो काममा मग्न रहँदा राजा आफ्नो नजिकबाट गएको पनि चाल नपाएको प्रसङ्गबाट कुनै काममा लाग्दा एकचित्त भई गर्नुपर्छ भन्ने सन्देश छ । सावधानीसँग रहने भ्रमण गरिरहने, अनावश्यक सङ्ग्रह नगर्नेजस्ता गुण सर्पबाट सिकेको उल्लेख गरेका छन् दत्तात्रेयले ।

माकुराले हृदयबाट मुखद्वारा जालो फैलाई त्यसैमा बिहार गर्छ र केही पछि त्यसलाई निलिदिन्छ । परमेश्वरको लीला पनि यस्तै हो । आफैंले जगत उत्पत्ति गरी बिहार गरी फेरि आफैंमा लीन गराउने । यो बुझेर जीवन अघि बढाउनुपर्ने उनको तर्क छ । कमलकोटीले कुनै कीरालाई लगेर थुन्छ । त्यो किरा कमलकोटीको भयले उसको चिन्तना गर्दागर्दै कमलकोटीकै जस्तो रूपको बन्न पुग्छ । यसकारण मानिसले नराम्रा कुराको चिन्तना छोडेर परमात्माको चिन्तनामा लाग्नुपर्छ भन्ने उनको भनाइ छ ।

भागवतमा दत्तात्रेयले भनेजस्तै नीतिमा पनि काग, कुकुर र गधाजस्ता पशुपक्षीबाट लिनुपर्ने शिक्षाबारे उल्लेख पाइन्छ । चाणक्यनीतिअनुसार काम सानो होस् वा ठूलो त्यसलाई हरतरहले पूरा गर्ने गुण सिंहबाट सिक्नुपर्छ । संधै सुरक्षित रहने, आफूसँग जोडा राख्ने, बेलाबेलामा संग्रह गरिरहने र कसैमाथि पनि विश्वास नगर्ने यी गुण कागबाट लिनुपर्छ । धेरै खानसक्ने शक्ति भए पनि अलिकतिमै सन्तुष्ट हुने, मस्त निन्द्रामा भए पनि तुरुन्तै उठिहालने, मालिकभक्ति र सुरोपना आदि गुण कुकुरबाट सिक्नु भन्ने चाणक्यको भनाइ छ ।
गुण ग्राह्य गर्न सकिने प्राणी वा वस्तुलाई गुरु मान्ने सन्दर्भ विभिन्न शास्त्रमा आए पनि आत्मज्ञान दिएर चेलालाई चरित्रनिर्माणमा लगाउने नै वास्तविक गुरु हुन्छन् । तिनै गुरु युग युगान्तरसम्म पूज्य हुन्छन् ।

गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः
गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।

 

 

प्रतिक्रिया दिनुहोस्