Logo

भिसिको तोप कता तिर ?



 ‘विश्वविद्यालय सुधार्न आवश्यक परे तोप नै चलाउने छु, चिरफार त गरी आएकै हुँ’ , आफू त्रिभुवन विश्वविद्यालयको कुर्सीमा बसेपछिको पहिलो सम्बोधनमा उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले भन्नु भएको थियो ।


देशको प्रमुख शिक्षालयको रुपमा रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपतिले पदबहालीकै दिन यसरी तोपको बिम्ब प्रयोग गर्नुपर्ने अवस्थाबाटै आँकलन गर्न सकिन्छ, विश्वविद्यालयको इतिहास जति गर्विलो छ, त्यति वर्तमानका समस्याहरु त्रिविको स्वास्थ्यका लागि यति हानिकारक छन् कि सर्जनको छुरा चक्कुले मात्र काम गर्दैन तोप चलाउनुपर्छ । उनको तोप चलाउने कुरा प्रत्यक्ष सुनेका त्रिविका अगुवा प्राध्यापक, कर्मचारी र संचारकर्मीलाई प्रतिक्षा छ,, ‘उपकुलपतिले चलाउने भनेको तोपको मोहरा सर्वप्रथम कता तिर सोझिने हो’ ।

सरकारले दिएको पदसँगै उपकुलपतिको पोल्टामा विश्वविद्यालयका केही क्रोनिक, केही भर्खरै सर्जित र केही अहिलेकै अवस्था कायम रहेमा उनकै कार्यकालमा उत्पन्न हुनसक्ने समस्यासमेत परेका छन् । विभिन्न शीर्षकका ति समस्याहरुले समग्रतामा एउटै ठूलो चुनौतिबाट उपकुलपतिलाई परिचित गराउँछन् । त्यो हो, त्रिविप्रतिको खस्कँदो विद्यार्थी आकर्षण ।

क्याम्पसहरुमा विद्यार्थीको घटदो तथ्यांकहरुले कतै त्रिवि २०४५ साल पछि शहरी क्षेत्रका सार्वजनिक विद्यालयको जस्तै ओह्रालो यात्रामा त छैन भन्ने त्रासलाई जन्म दिन्छन्। समय अनुसारको अभिभावकको आकांक्षा अनुरुप परिवर्तन गर्न नसक्नु र शिक्षक लगायतका सबैले आफ्नो स्वार्थसँग विद्यालयको भविष्य साटेको परिणाम आज कुनै पनि सचेत नागरिक सार्वजनिक विद्यालयमा सकेसम्म आफ्ना सन्तान भर्ना गर्न चाहँदैनन् । त्यसै पनि स्नातक तहमा विद्यार्थी वा त्यस तहका जनशक्ति मुलुकले कम पाउँदै गएको छ । त्यसमाथि ‘सरकारी क्याम्पस’ भन्ने सामाजिक प्रवृत्तिले गर्दा त्रिविका आंगिक क्याम्पसहरुमा विद्यार्थी संख्या घटदो छ । त्यहाँ पढाई नियमित हुँदैन ।

परीक्षा समयमा हुँदैन । भई हाले पनि नतिजा समयमा हुँदैन र कतै फड्को हान्ने ताकमा रहेको विद्यार्थी नतिजा हात नपरेकै कारण छटपटिएको देखिन्छ ।
विश्वविद्यालयले सार्वजनिक खपतका लागि तथा अन्यत्र बताउने गर्वोक्तिको विषय इन्जिनियरिक र मेडिकल संंकायहरु हुन् । यि दुई संकाय अहिले पनि विद्यार्थी र अभिभावकको पहिलो छनौट हुन् । तर मेडिकल शिक्षातर्फका आकांक्षी विद्यार्थी केही सयबाट दश हजार पुग्न लाग्दा पनि दशकौं देखि मेडिकल शिक्षामा सरकारी कोटा बढन सकेको छैन । यसै अवस्थालाई ठूलो बजार मान्दै उम्रिएका निजी मेडिकल कलेजहरुमा अहिले देखिएको भद्रगोलले दीर्घकालिन कुप्रभाव पार्ने लक्षण देखिएको छ । बेलाबेलामा इन्जिनियरिङ शिक्षा तर्फ पनि देखिने समस्याले अभिभावकलाई विकर्षित गरिहेको समेत देखिएको छ । त्यसबाहेक पनि त्रिविमा जवाफदेहिता, अनुशासन, प्रकृयागत कार्य तथा पारदर्शिता जस्ता कुराको अभाव बिझाइ रहने काँडा जस्ता भएका छन् ।

यस्तै समस्याहरुको पहाड बिचमा उपकुलपतिको कुर्सी सम्हाल्नु भएका उपकुलपति अहिले पालैपालो मत्रिविका सबै शाखा र निकायबाट व्रिफ्रिङ लिइरहनु भएको छ । तर तोपको मोहरा कता सोझ्याउने वा काम कताबाट सुरु गर्ने भन्ने कुराको निश्चय अझै नभइसकेको देखिन्छ । अहिले उपकुलपति बाँस्कोटाले आफ्नो सदैव आँखा पर्ने नवनिर्मित कार्यालय परिसर फिनिसिंङ र सजावट गर्ने कामबाट कामको श्री गणेश गर्नुभएको छ । त्रिविमा निकै कमजोर हुँदै गएको प्राज्ञिक अनुन्धानलाई केही अघि बढाउने त्यसका लागि प्राध्यापकहरुलाई प्रेरित गर्ने, प्रयोगशाला व्यवस्थित गर्ने, परीक्षाको संचालन, अभिलेखीकरण र नतिजा प्रकाशन नयाँ सफ्टवेयरको व्यवस्थामार्फत गती प्रदान गर्ने र यि सबैका लागि पारदर्शी प्रक्रिया अपनाउने प्रारम्भिक निर्देशन उहाँको छ ।

यी सबै स्थितिका बीच एउटा तथ्य उपस्थित छ । त्यो हो, उपकुलपतिको कुर्सीबाट त्रिविका समस्याहरु सुधार्ने योजना ठोस र प्रतिबद्धता आएका दिन उहाँको तोपको मोहरा कतातर्फ लक्षित छ भन्ने संकेत मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्