३ कार्तिक २०७८, बुधबार

आक्रमक पर्यटन विकासको संघारमा छ चित्लाङ



हात गोडा चल्ने भएपछि पहिले काठमाडौं र त्यसपछि विदेशतिर हिँडेका युवाहरु क्रमशः घर फर्किँदैछन् । एक वर्ष जति भयो, मकवानपुरको चित्लाङवासीहरुलाई आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने लाग्दैछ । नेपालमा राजमार्ग बन्नुअघिसम्म राजधानी छिर्ने र राजधानीबाट बाहिरिने प्रमुख नाकाको रुपमा रहँदा अहोरात्र मानिसको आवागमन र चलहपहलले गुल्जार हुने चित्लाङको त्यो भर्मराउँदो जवान अवस्थाका साक्षीहरु अझै पनि जीवितै छन् । राजधानीमा चि ( नेवारी भाषा नुनको अर्थ) को आपुर्ति गर्ने लँ (बाटो) को अपभं्रश हुन्दै बनेको चित्लाङ त्यतिबेलाको नेपालको एक महत्वपूर्ण स्थान थियो ।

त्यही बेलाको चित्लाङको महत्व पुनस्र्थापित गर्न लागि परेका छन्, चित्लाङबासी । कुनै बेला वास्ता नगरिएका ऐतिहासिक राणा शासकहरुले काठमाडौंबाट बाहिरिँदा पहिलो र भित्रिदाँ अन्तिम मुकाम बनाउने गरेको चित्लाङका प्राकृतिक छटा, ऐतिहासिक र साँस्कृतिक चिन्हहरु तथा अहिले पनि गाउँको काममा प्रयोग हुने पानी घट्टदेखि जंगलका बुटासम्म पनि महत्वपूर्ण लागि रहेको छ उनीहरुलाई । किनकी ति सबै थोक चिजहरुले स्वदेशी र विदेशी पर्यटकलाई चित्लाङतर्फ तान्न सक्ने उनीहरुलाई लागेको छ ।

 

अहिले राजधानीको नया पर्यटक गन्तव्य बनेको चन्द्रागिरी केबुलकारबाट उत्तरतर्फ लागेपछि सुरु हुने मकवानपुरलाई राजधानी र बाँकी देशसँग जोडने विन्दु पनि हो चित्लाङ । त्यसैले त्यहाँ आउने पर्यटकहरुलाई सर्वप्रथम देखाइने र बुझाइने कुरा हो, १७ रोपनी क्षेत्रफलमा फैलिएको परिसर भित्र रहेको दुई जम्ल्याहा पुराना भवनहरु । झण्डै एक फुटबल मदानका दई गोलपोष्टहरु जस्तै गरी उत्तर र दक्षिण मुख गरेर बसेका यि भवनहरु मध्ये दक्षिणी दरबार श्री ३ र उत्तरी दरबार श्री ५ का लागि बनाइएका थिए । राणा प्रधानमन्त्रीहरु मध्ये शिक्षित, फरवार्ड र स्मार्ट मानिने चन्द्र शमशेरले विसं १९८० मा बनाएका यि दरबारहरुलाई पुरानै स्वरुपमा संरक्षण गरेर राख्न थाहा नगरपालिकाको वडा नम्बर ९ र सोही परिसरमा रहेको स्वच्छन्द भैरव उच्चमाध्यमिक विद्यालयको व्यवस्थापन समितिले समेत पहल गरीरहका छन् ।

देशकै महत्वपूर्ण व्यापारिक नाका भएका कारण चित्लाङमा मानव चहलको ग्राफ २०१२ सालमा देशकै पहिलो राजमार्ग बन्नुअघिसम्म बढदो क्रममा थियो । राजमार्ग बन्नु र हवाई मार्गको पहुँचमा पनि बृद्धि हुन थालेपछि चित्लाङ क्रमशः सुस्ताउन थाल्यो र लामो समय एकान्तबासमा बसेको बस्ती जस्तो हुन पुग्यो । यातायातको सुविधा नभएका कारण डोकोमा तरकारी हालेर राजधानी पुर्याउने र जति पाइन्छ त्यति पैसाको किनमेल गरेर लखतरान हुँदै फर्किने दिनचर्या विगत एक दुई वर्षसम्म कायम थियो ।

चित्लाङको यही एकान्तबासलाई पर्यटन विकासका आक्रमक योजनाहरु बनाएर तोड्ने क्रममा छन्, कुनै बेला काम खोज्दै चित्लाङबाट बाहिरिएका स्थानीय युवाहरु । पर्यटकलाई आकर्षित गर्न चित्लाङका पहाडी भेगमा बसेका मौलिक नेपाली वस्ती, बहुसँख्यामा रहेका नेवार र तीनले बचाएर राखेको सँस्कृति, सम्राट अशोक चैत्य, नेपालकै पहिलो बाख्राको दूधबाट चिज उत्पादन गर्ने केन्द्र, एतिहासिक धाराहरु भौगोलिक दृश्य पटलाई पर्यटन प्रवर्धनका लागि प्रयोग गर्ने सुरमा रहेका उनीहरु छन् ।

 

यिनै मध्येका एक हुन् । चित्लाङ रिसोर्टका संचालक रामशरण नेपाल । कुनै बेला उनले पनि चित्लाङका पाखाहरुमा भन्दा राजधानी र विदेशमा आफ्नो भविश्य देखेका थिए । पाँच तारे सोल्टी होटलमा लामो समयको अनुभव संगालेका उनले पछि आफ्रनै जन्म थलोको माटोमा गतिलो पर्यटन व्यवसायको खाँबो गाडने निश्चय गरे । गत एक वर्षदेखि मौलिक नेपाली शैलिको रिर्सोटमा यथासम्भव आधुनिक सुविधासहितको चित्लाङ रिसोर्ट बनाएर आन्तरिक पर्यटनको सानो तर गतिलो उदाहरण पेश गरिरहेका छन् । उनकै सिको अन्य स्थानीय र बाहिरकाले पनि गर्न थालेकाका कारण त्यहाँ पुग्ने जोसुकैले अनुभव गर्न सक्छ, चित्लाङमा पर्यटन उद्योग आक्रामक रुपमा माथि उठ्दै छ । ठमेल र नगरकोटका पर्यटन व्यवसायीहरुले भविष्यको सुन्दर सम्भावना देखेर थुपै जग्गा लिएका छन् । गतिलो कामको खोजीमा घर छोडेर हिँडेकाहरु चित्लाङ फर्किएर सम्भावना हरु खोज्न थालेका छन् ।