Logo

मातृभूमिको पीडामा धरधरी रुँदा



गणेश खत्रीले अब पुगिनै लाग्यो भनेपछि विद्यार्थीहरूले उचाले झन्डाहरू माथि माथि । नेपालको राष्ट्रिय झन्डा र अनेरास्ववियुका झन्डाहरू फहराए चिसो हिमाली हावाको प्रेममा लहरिँदै ।

कस्तो होला अबको बाटो ? कसरी बसेका भारतीय सेनाहरू हाम्रो भूमिमा ? कस्तो व्यवहार गर्लान् तिनीहरूले ? अप्रिय घटना पो हुने हो कि ? कालापानी कस्तो होला ? ब्युउँझिसक्दा यस्ता धेरै प्रश्नहरूको क्रिडास्थल बनिरहेको थियो मेरो मन । जित बहादुरले हिजो राती भनेका कुरा कम गम्भीर थिएनन् । मनलाई त्यसले पनि झस्काइरहेको थियो ।
पाँचै बजे चिया पिइसकेपछि हिँड्ने सुरसार भयो । कमब्याट ड्रेस लगाएका रूपनारायण अगुवा भएर अगाडि हिँडे । भारी थिएन कसैको पनि । साँझ त्यहीँ फर्कने भएकाले झोलाहरू त्यही थन्किए । केही खानेकुरा मात्र थियो बोक्नुपर्ने ।
नजिकै छाँगरु गाउँ रहेछ । कति सुन्दर ! ढुङ्गाका पर्खालले घेरिएका घरहरू । थोरै घरहरूको बस्ती । सफा सुग्घर । बिचमा डबलीजस्तो घोडा खच्चर बाँध्ने ठाउँ । काठका फ्ल्याक ओछ्याइएका बसेर कुराकानी गर्न । गाविस अध्यक्ष जहेन्द्र ऐतवालको घर पनि यहीँ रहेछ । मैले हिजै थाहा पाएको थिएँ उनी काम विशेषले काठमाडौँ गएका रहेछन् । भेट भएन ।
उकालो लागेपछि बाटो पनि थिएन । काँडा, पोथ्रा, स्याउँला पन्छाउँदै हिँड्नुपर्ने । कतै अलिअलि गोरटो भेटिने कतै अलिअलि घोरेटो, धेरैजसो त मेटिसकिएको । छाँगरूभन्दा माथि यताबाट मान्छेहरू नहिँडेको धेरै वर्ष भएछ । उहिले त बहादुरसिंह ऐतवालले बनाएको घोडेटो बाटो थियो रे । अघिल्लो टोलीले पनि यसरी नै बाटो बनाउँदै हिँडेको रहेछ । मनमनै लाग्यो न राज्य न जनता कोही पनि नहिँडेपछि भारतीय सेनालाई त आफ्ना गतिविधि गर्न हाइसन्चो भएको होला ।
पहाडको चुचुरोमा पुगेर हाम्रो बाटो अलमलियो । हामी पनि अलमलियौँ उसँगै । घनघोर जङ्गल । अप्ठ्यारो भीर । जति हिँडे पनि कतै किनाराको सङ्केत छैन । सल्लाका हाँगा र झारपात समाउँदै हिड्दैजाँदा बल्ल पुगियो महाकालीको किनारमा ।
अघिअघि हिँड्नेहरू हामीलाई पर्खिरहेका रहेछन् । रूपनारायणले सङ्ख्या गने एक, दुई, तीन गर्दै । सबै रहेछौँ । नवेन्दुले फोटो खिचे ।
अगाडि त बाटै रहेनछ । पहिरो पो आयो अजङ्गको । प्रहरीहरू एउटा एउटा पाइला राख्न मिल्नेसम्मको बाटो बनाउँदै रहेछन् । हामीलाई साथ दिन प्रहरी इन्सपेक्टर दिलीपसिंह बडाल सहितको दस जना प्रहरीहरूको टोली हाम्रो अघि अघि हिँडिरहेको थियो । उनीहरूसँगै थिए सीमा प्रशासन सीतापुलका अधिकृत फकिरसिंह धामी पनि । अप्ठ्यारो पहिरो पार गर्न प्रहरीले धेरै मद्दत गरे । हामी कतिलाई त समातेरै लगे परसम्म । हातखुट्टा टेक्दै, एकले अर्काको हात तान्दै बल्लतल्ल उकालो पार गरेर टक्क उभिँदा त परपरसम्म पुगूँ पुगूँ लाग्ने हरियो घाँसे चउर । दौडूँ दौडूँ लाग्ने समथल मैदान । साँच्चै सुन्दर !
ब्यास गाविसको तल्लो कावा रहेछ यो ठाउँ । यहाँका मानिसहरू तल्लो कौवानी पनि भन्दा रहेछन् यसलाई ।
“अहो ! भग्नावशेष !”
नवेन्दुले खै के देखे भनेको त साँच्चै त्यस्तै रहेछ । एक जना प्रहरीले भनेअनुसार पहिले त्यहाँ बस्ती थियो रे π सायद भारत — चीन युद्घ पछि निर्जन बनेको होला ।
अगाडि बढ्दै जाँदा देखियो, चउरमा भारततिरबाट आएका घोडाहरू चरिरहेका π गाउँमा आफ्नो धानको ब्याडमा छिमेकीको गोरु पसेर चरिरहेको जस्तै लाग्यो । कम्ती त रिस उठेन नि ! लठ्ठी लठ्ठीले हानेर खेद्नु जस्तो ।
मत्लो कौवा (माथिल्लो कौवानी) पुगेपछि भेटियो गुन्जी गाउँ । यसलाई भारतले आफ्नो भनेको छ । पारिपट्टि उसले भारतीय विशेष प्रहरी फोर्स (एसपीएफ) र भारत तिब्बत बोर्डर पुलिस (आईटीबीपी) का ब्यारेकहरू राखेको रहेछ ।
लिम्पियाधुराबाट आउने वास्तविक महाकाली (कुटियाङ्दी) र कालापानीबाट आउने नक्कली महाकाली यहीँ मिसिँदा रहेछन् । बिचमा पर्ने १९,६०० हेक्टर जति जमिनमा नै नेपाली गुन्जी, नाबी र कुटी गाउँहरू रहेछन् । अहिले ती तीनओटै गाउँ भारतीय अतिक्रमणमा परेका छन् । यहाँदेखि भने भारतीय सेना र प्रहरीहरूको सयौँको ठुलो सङ्ख्याले नक्कली महाकालीको पारिबाट यात्राको टोलीलाई पिछा गर्न थाल्यो ।
हामीसँग हिँडिरहेका प्रहरीलाई यहाँका धेरै कुरा थाहा रहेछ । त्यसमा कति कुरा गणेश खत्रीले पनि थपे । गणेश खत्री दुई वर्षअघि पनि पत्रकारहरूको टोलीमा कालापानी आएका थिए ।
बाटोमा जताततै ठुलाठुला रूखहरू ढलेका । प्रहरीको अनुमानमा कति ती रूखहरू भारतीय सेना प्रहरीहरू यता आएर यात्रालाई असजिलो पार्न तेस्र्याइदिएका होलान् । नाघेर कतै त कतै तर्किएर हिँड्नुपर्ने । प्रत्येक खोँच, पहरा, भिर जताततै हिउँ नै हिउँ । कति ठाउँमा त प्रहरीहरू बुटले हिउँ भत्काएर हामीलाई टेक्ने ठाउँ बनाइदिन्थे ।
योगेशजी आज अगाडि अगाडि हिडिरहनुभएको थियो । उभिएर सबैका अनुहारमा हेर्नुहुन्थ्यो र थाकेका साथीहरूमा उत्साह भर्दै भन्नुहुन्थ्यो, “यो यात्रा अवश्यनै कठोर छ । जोखिमपूर्ण छ । अत्यासलाग्दो छ । मृत्युजस्तै छ । तर पहाडजस्तै, हिमालजस्तै दृढ सङ्कल्प बोकेका हामी युवासामु यी सबै कुरा सामान्य भइरहेका छन् । हामीले यात्रामा पटक पटक मृत्युलाई जितिरहेका छौँ । हामी राष्ट्रवादी आन्दोलनका संवाहक हौँ । अहिले हामीले भनेकै कुरा भविष्यमा यो देशका सबै राजनीतिक पार्टी, संघसंगठन र आम नेपाली जनताले भन्नेछन् । सायद हाम्रो जस्तै कठोर यात्रा अरूले पनि गर्नेछन् । यो हाम्रो यात्रा नेपालको महान राष्ट्रियतावादी आन्दोलनको एउटा अभिन्न अङ्ग बन्नेछ ।”
यसपछि सबैका मन, मस्तिष्क र शरीरका अङ्ग अङ्गबाट थकाइ त कता भाग्थ्यो भाग्थ्यो π सबै खुसी हुन्थे, उत्साहित हुन्थे, जाँगरिला हुन्थे र जस्तै अप्ठ्यारामा पनि फुर्तिला पाइला चाल्थे । म पनि खुसी हुन्थेँ र मनमनै धन्यवाद भन्थेँ योगेशजीलाई ।
पारिपट्टिको नक्कली महाकाली किनारका बाटामा भारतीय पुलिस, सेनाका सयौँ जवानहरू हामीतिरै अत्याधुनिक हतियारका निसाना ताकेर हिँडिरहेका थिए । दुरबिनले हेरिरहेका थिए हामीलाई । हामी बसे तिनीहरू पनि बस्थे । हामी हिँडे तिनीहरू पनि हिँड्थे ।
गणेश खत्री र शरद अधिकारी बेलाबेला फोटो खिच्थे यताबाट ।
गागाबाट हिँडेदेखि नै धुपीसल्ला, गोब्रेसल्ला, ठिङ्गुरेसल्ला हामीसँगै थिए जताततै । बस्ती चाहिँ कतै देखिएन ।
कहिले सुन्दर हरियाली चउर र नागीहरूसँग रमाउन पाइन्थ्यो । कहिले खोला बगरका धारे ढुङ्गाहरूले दुखाउँथे । कहिले चट्टाने पहराहरूले मुटु नै हल्लाउँथे । कहिले हिउँ पहिराहरूले हृदय नै जमाउँथे । सासै रोकुँला जस्तो गरेर चल्थ्यो चिसो हावा कहिले । भुइँकुहिरो खेल्थ्यो कहिले लुकामारी ।
धेरै उचाइमा पुगिसकेका थियौँ हामी । अघिल्लै दिन कसैकसैलाई लेक लाग्न थालेको लक्षण थाहा पाउनेबित्तिकै लसुन, खुर्सानी चपाउन लगाएर पूर्णानन्दले उपचार गरेका थिए । आज पनि लेकले दुःख दिने हो कि ?
सीमा प्रशासन अधिकृत फकिरसिंह धामीसँगै हिडिरहेको थिएँ म । उनी भन्थे — हाम्रो सुरक्षा संयन्त्रको अत्यन्तै न्युन उपस्थिति, बाटोघाटो र विकास निर्माण शून्य, राहत सुविधा शून्य, सुनसेराभन्दा माथिका प्राय सबै गाउँबस्तीहरूमा जाडोका कारण आधा वर्षजतिमात्रै बसोबास रहने स्थिति । यस्तै यस्तै कुराले यी हाम्रा गाउँहरूलाई भारतले अतिक्रमण गर्न सजिलो भएको हो । यहाँका वनजङ्गल र पाखापर्वतहरूमा कस्तुरी, नाउर, झारल, घोरल, डाँफे, च्याखुरा जस्ता अनगिन्ती वन्यजन्तु र चराचुरुङ्गी पाइन्छन् ।
उनका कुरा सुन्दै मनमा कुरा बुन्दै म पछिपछि एकोहोरो हिडिरहेको छुँ । बाटो साह्रै अप्ठ्यारो छ । उनी बेलाबेला मेरो हात समातेर तान्छन् र हेर्छन् मेरो अनुहारमा । म मुस्कुराउँदै भन्छुँ — म पनि पहाडमै जन्मेर हुर्केको हुँ नि ।
“सर यहाँ पाइने रूख विरुवा र जडीबुटीका त कुरै नगरौँ । कति हो कति π” सायद उनी स्वयम् पनि छक्क परिरहेका छन् तिनका अनगिन्ती सङ्ख्या र मात्रा सम्झेर ।
“यार्सागुम्वा, पाँचऔँले, भुतकेश, पदमचाल, दारुहल्दी, टिमुर, पाखनवेत, लाठसल्ला, च्याउहरू, सिकाकाई, सतुवा, सेतकचिनी, कट्टी, रिठ्ठा । अरू पनि धेरै पाइन्छन् । तर के गर्नु ? संरक्षण, सुरक्षा, सदुपयोग केही पनि हुन सकेको छैन ।”
यती भनिसकेर फकिरसिंहले लामो सास फेरे ।
उनले भनेका कति जडीवुटीका नाम समेत मैले अहिलेसम्म सुनेको पनि थिइन ।
“के मरेर सडेरै जान्छन् त सबै ?”
मेरो प्रश्नको जवाफ दिएनन् निकैबेर उनले । केही कुरा सम्झदै होलान् ।
पाँच सात पाइला हिँडेपछि मात्र उनी बोले—यो सुनसान ठाउँमा सबैलाई सजिलो छ । जाडोभरि कसैले काहीँ देख्दैन । जे गरे पनि हुन्छ ।
साङ्केतिक भाषामा बताए उनले । सायद तस्करीको कुरा गरेका होलान् ।
“तस्करी हुन्छ ?”
म स्पष्ट हुन चाहेँ ।
“सजिलो छ नि सर । भारततिर लगे पनि चीनतिर लगे पनि ।”
उनका कुरालाई उछिन्दै फेरि सोधेँ — कताकाले गर्छन् त तस्करी ? नेपालतिरकाले कि भारततिरकाले ?
“जताकाको शक्ति धेरै छ त्यताकाले धेरै । शक्ति थोरै हुनेले थोरै । सिधा छ नि कुरो । हैन र ?”
फकिरसिंहले सिधै पाराले कुरो छिनाए ।
केहीबेर हिँडेपछि फेरि आए हिउँ जमेका पाखा र पहिराहरू । छिटो पनि हिँड्नु थियो । सहज बाटाहरू थिएनन् । प्रहरी साथीहरू कतै बाटो बनाइदिन्थे त कतै अलमलिदा बाटो देखाइदिन्थे ।
हामीमाथि उड्यो एउटा भारतीय सैनिक हेलिकप्टर । उनीहरू अन्तर्राष्ट्रिय कानुनको समेत प्रवाह गरिरहेका थिएनन् ।
गणेश खत्रीले अब पुगिनै लाग्यो भनेपछि विद्यार्थीहरूले उचाले झन्डाहरू माथि माथि । नेपालको राष्ट्रिय झन्डा र अनेरास्ववियुका झन्डाहरू फहराए चिसो हिमाली हावाको प्रेममा लहरिँदै ।
प्रहरीहरू र सीमा अधिकृत हामीलाई छाडेर छिटोछिटो हिड्न थाले । हामी उनीहरूभन्दा पछि प¥यौँ । केहीछिन्मै उनीहरू उभिरहेको ठाउँमा पुग्यौँ हामी । प्रहरी इन्स्पेक्टर दिलीपसिंह बडालले रोकिने सङ्केत गर्दै भने, “अघिल्लो टोली यहाँ आइपुग्दा भारतीय सेनाहरू टेलिस्कोप, क्यामेराहरू जडान गर्दै थिए यतैतिर । यी हाम्रा पहराहरूमा पनि भारतीय सेनाहरू छ्यापछ्याप्ती लुकेर बसेका थिए । सायद अहिले पनि हुन सक्छन् ।”
नभन्दै माथि माथि अप्ठ्यारा ठाउँहरूमा उनीहरू हामीतिरै बन्दुक सोझ्याएर बसेका देखिए ।
यहीँ आइपुग्दा अघिल्लो टोलीलाई रोकेको रहेछ माइकिङ गरेर भारतीय सेनाले ।
अहिले पनि प्रहरी इन्सपेक्टर र सीमा प्रशासन अधिकृत भारतीय सेनासँग सुरक्षा सम्बन्धी कुरा गर्न अगाडि बढ्न खोज्दा यहीँ रोकिएछन् । सबैजना त्यहाँ पुगेपछि इन्सपेक्टर दिलीपसिंह र सीमा अधिकृत फकिरसिंह कुरा गर्न फेरि अगाडि बढ्न खोज्दा भारतीय सेनाले हात उठाउँदै परैबाट रोके र जोड जोडले माइकिङ्ग गर्न थाले, “ आप लोग जहाँ खडा हे उही रोकिए । इससे आगे मत बढिए । बढेगा तो स्थिति अच्छा नही होगा । परापूर्वकालसे नेपाल और भारत मित्र देश रहे है । इस सम्बन्धको किसिके वहकावमे आकर मत बिगारिए ।”
भारतीय सेनाको यस्तो भनाइले हाम्रा प्रहरीहरूलाई पनि आक्रोशित बनायो ।
“हामी हाम्रै भूमिमा पनि किन आउन नपाउने ?”
उनीहरू कराए जोडले तर उनीहरूको आवजको कुनै अर्थ रहेन ।
सीमा प्रशासन अधिकृत फकिरसिंहका आँखामा आँसु भरिएको देखेँ मैले । सायद आफ्नो देशको सिमानाको घाउले धेरै नै दुखाइरहेको थियो उनलाई ।
इन्सपेक्टर दिलीपसिंह र सीमा प्रशासन अधिकृत फकिरसिंहले धेरै पटक प्रयास गरे अगाडि गएर कुरा गर्न । तर मानेनन् भारतीयहरू, दिएनन् तिनीहरूले अगाडि बढ्न ।
रूपनारायण र योगेशजी अगाडि के बढ्नु भएको थियो माइकिङ गर्न थाल्यो भारतीय सेनाले फेरि,
“आप लोग काठमाडौँ से यहाँतक आए, महाकाली दर्शनके लिए । इसके लिए धन्यवाद ।
फिर कभी आइए मत । आज यह सब निषेधित क्षेत्र है । आगे मत बढिए । भारत सरकार के आदेश पालना कर्ने के लिए हम हरदम तयार है ।
सुरक्षित आपलोग वापस…..”
विद्यार्थीहरू नारा लगाउन थालिहाले झन्डा उठाउँदै
भारतीय अतिक्रमण — सहँदैनौँ π सहँदैनौँ ππ
कालापानी — हाम्रो हो π हाम्रो हो ππ
लिपुलेक — हाम्रो हो π हाम्रो हो ππ
लिम्पियाधुरा — हाम्रो हो π हाम्रो हो ππ
भारतीय सेनाले तारबार पाँच सय मिटरभन्दा बढी नेपालतर्फ सारेको रहेछ अहिले । त्यहीँ बार झै उभिएका थिए हतियारधारी भारतीय सेनाहरू । अघिल्लो टोली आउँदा उनीहरू जहाँ बार लागेर उभिएका थिए त्योभन्दा पाँच सय मिटर जति यता ढुङ्गाले च्यापेर अस्थायी किसिमको तारबार गरिएको रहेछ । अझ आज त सय मिटरजति यतै रोकेका थिए । प्रहरीले यो जानकारी दिएपछि झन् आक्रोशित भए विद्यार्थीहरू ।
भारतीय सरकारलाई सम्बोधन गरिएको विरोधपत्र उठाउँदै योगेशजी र रूपनारायण उनीहरूतिर बढ्न खोज्दा माइकबाटै कराए उनीहरू, “मत बढिए आगे, हाम कुछ भी स्वीकार नही करती है । एक कदम भी आगे मत बढिए, गोली चल सकता है ।”
उभिएका सेनाले हामीतिरै बन्दुक तेस्र्याइरहेका थिए ।
आक्रोश झन् बढिरहेको थियो विद्यार्थीहरूको ।
मोहन चापागाईं कार्यक्रम सञ्चालन गर्न थाले । ठाकुर गैरेको सभापतित्वमा सञ्चालित कार्यक्रममा सुस्मिता ढकाल गर्जिन– “नालापानीमा बालबच्चा पिठ्यूँमा बोकेर नेपाली महिलाहरू लडेका थिए । अब कालापानीमा तिनै आमाहरूका सन्तानहरू आउनेछन् इतिहास सम्झाउन ।”
सुरेन्द्र मानन्धरको आवाजमा पनि कम थिएन आक्रोश र पीडा । “समयले दिने छ तिमीहरूलाई सजाय । नेपाल आमाका सन्तानहरू आइलाग्ने माथि जाइलाग्ने जाति हो । हेरिराख तिमीहरू आफ्ना हतियार फालेर भाग्ने छौँ यो ठाउँबाट एकदिन अवश्य ।”
रूपनारायण श्रेष्ठको आवाजमा आक्रोश थियो आगोजस्तो । क्रोधको ज्वाला दन्दनी दन्किएको थियो ।
“ए ! अङ्ग्रेजका दासहरू हो, तिमीहरूलाई थाहा छैन स्वाभिमानमाथि लागेको चोटको पीडा ? तिमीहरू दासी संस्कारको भरियाहरू हौ । बिर्सियौ, गोर्खालीका खुकुरीले चम्काएको बहादुरीको इतिहास । हाम्रो मातृभूमिको छातीमाथि रजाइ गर्ने तिमीहरू ?
हामी तिमीहरूलाई खुकुरी हानेर, ढुङ्गामुढा गरेर लखेट्न आएका हैनौँ । अहिले अतिक्रमणको विरोध गर्न आएका हौँ । प्रत्येक नेपालीको मनमा कालापानीको मर्म पु¥याउने उद्देश्यले आएका हौँ । भोलि अवश्य यो देश सिङ्गै उठ्ने छ राष्ट्रियताको नारा घन्काउँदै । त्यसबेला तिमीहरूले भाग्नु पर्नेछ यहाँबाट ।
कालापानी हाम्रो हो । कालापानी हाम्रो हो ।”
मेरा मनमा अनेकाँै कुरा आँधीहुरीझैँ आइरहेका थिए । अरूलाई पनि यस्तै भइरहेको थियो होला । भौगोलिक, जातीय र अरू धेरै किसिमका सिमाना नहुने पेसाको मान्छे हुँ भन्ने कुरा मनमा आउन गाह्रो भइरहेको थियो ।
गणेश जोशीले बोले यसपछि ।
उनले भारतीय र नेपाली दुबैतिरका शाषकहरू यो अतिक्रमणका लागि जिम्मेवार छन् भने । नेपाली शाषकहरूको गम्भीर कमजोरीको निन्दा गर्दै उनले भारतीय शाषकहरू नियतले नै खराब रहेको बताए ।
योगेशजीले पढ्नुभयो भारतीय सरकारलाई पठाउन नपाएको विरोधपत्र । जुन पत्रमा इतिहास थियो, वर्तमान थियोे र थियोे भविष्य ।
सन् १९६२ भन्दा अघिदेखि भारतीय अतिक्रमणमा परेको यो लिम्पियाधुरादेखि कालापानीसम्म नेपालकै भूमि हो । ऐतिहासिक दस्ताबेजहरूले पनि यसलाई प्रमाणित गर्छन् । यसलाई न कसैले नेपालबाट छुट्याएर लिन मिल्छ न कसैले छुट्याएर कसैलाई दिन मिल्छ ? सुगौली सन्धिदेखि होस् या त्यसभन्दा पनि अघिदेखि होस् यो भूमि नेपालकै हो । भारतले आफ्नो राष्ट्रिय, अन्तर्राष्ट्रिय एवम् नैतिक मूल्य मान्यता सबै त्यागेर छिमेकीको भूमि अतिक्रमण गरेको छ । यो बेइमानीका निम्ति कुनै न कुनै दिन भारतले सजायको भागी हुनैपर्छ । भारतीय अतिक्रमणको युवा विद्यार्थीहरूले मात्र हैन सम्पूर्ण नेपाली जनताले विरोध गरिरहेका छन् । यदि भारतले आफ्नो गल्ती समयमै सच्याउँदैन भने प्रत्येक नेपालीले प्रतिरोधका लागि तयार हुनुको विकल्प नरहला ।
योगेशजीको सम्बोधन गम्भीर थियो । वातावरण शान्त थियो ।
“हामीले बोकेको यो झन्डामा चन्द्र र सूर्य अङ्कित छ । जबसम्म यी चन्द्र सूर्य आकाशमा रहनेछन् त्यो दिनसम्म यो मातृभूमिको रक्षा गर्न प्रत्येक नेपाली तयार रहने छन् । हामीले अहिले मातृभूमिको शिरमा यो झन्डा उठाएका छौँ । प्रण गर्दछौँ हामी यही झन्डा शिरमाथि उठाएर मातृभूमिको सिमानाका प्रत्येक विन्दुहरूमा फहराउने छौँ यसलाई । यो कालापानीमा उठाएको झन्डाको सन्देश देशभरि पुग्नेछ । हामी पु¥याउँछौँ यो सन्देश यो माटो हाम्रै हो र हाम्रै भइहनेछ सधैँ सधैँका लागि ।”
भावुक हुँदै विद्यार्थीहरूले उठाए अघि जमिनमा गाडेको आफ्नो राष्ट्रको प्यारो झन्डालाई माथि माथि र सायद प्रण गरे यागेशजीले भनेझैँ ।
उद्घोषक मोहन चापागाईंले बोलाए केही बोल्न मलाई पनि ।
विचारहरू तँछाडमछाड गर्न थाले बाहिर निस्कन । कसरी सम्हालिने म सोच्नै सकिरहेको थिइनँ । म पत्रकार थिएँ, मैले पालना गर्नैपथ्र्यो आफ्ना मूल्य र मान्यताहरू ।
बोल्नु नपरेको भए हुन्थ्यो भन्ने नलागेको हैन कताकता । तर, पहिलो कुरा त म नेपाली थिएँ । यो मेरो मातृभूमि थियो । छामेको थिएँ मातृभूमिको ढुकढुकी । दर्द थियो त्यहाँ । आगो सल्किरहेको थियो पीडाको । सुनिरहेझैँ भइरहेको थियो मातृभूमिको आवाज, “लाछी त छैनौ नि पुत्र ? मेरो मुटुमा धसिएको भाला कसले उखालिदिन्छ ? मेरो छातीमा गाडिएको तिर कसले झिकिदिन्छ ? मेरो आर्तनाद त सुनिरहेको छौ ? भनिदेऊ देशविदेशमा बसेका मेरा सारा सन्तानलाई तिमी जन्मिएको मेरो छाती, तिमी लडिबुडी गर्दै हुर्किएको मेरो छाती, तिमी थाकेर निदाएको मेरो छाती, तिमी नेपाली भएको मेरो छाती चरचरी चिरिएको छ पराइका बुटहरूले कुल्चिँदा । आगो लागेको छ मेरो देहमा तर सन्तान किन तिम्रो रगत चिसै छ ? इतिहासमा मैले कहिल्यै कायर सन्तान जन्माइन । तिमीहरू पनि कायर नबन । फर्केर हेर मेरा ती वीर सन्तानहरूको इतिहास । गोली र बारुदले अहिल्यै हराएन तिनलाई, जालझेल र षड्यन्त्रले कहिल्यै झुकाएन तिनीहरूलाई । तिनै वीरका सन्तान हौ तिमीहरू, किन दुख्दैन मुटुमा ? किन बुझ्दैनौ तिमी माटोको प्राण ? मलाई अहिले तिम्रो चेतना, जागरण, पसिना र प्रेमले सिचाई देऊ । सिङ्गै राख मलाई तिम्रो मुटुभित्र । नबोलाऊ मलाई रगत चाहिने बाटोमा । मलाई तिम्रो रगत हैन, आमा हुँ π प्रेम मन पर्छ । ” म बोलिरहेको थिएँ देशका यिनै कुराहरू ।
लाग्थ्यो माथि व्यास गुफाबाट हेरिरहेका होलान् ऋषिका चेतनाले । जोलिङ्काङ पर्वतमालाको ॐ पर्वत सुनिरहेको होला हाम्रो आवाज । लिम्पियाधुराबाट बगेको महाकाली भन्दै होला मुक्त गर तिम्रो माटो । वास्तविक सिमाना त म यतातिर छुँ ।
“आमा π लिम्पियाधुराबाट बगेको तिम्रो दशधारा दूधले मभित्र चेतना, प्रेम र जागरणको शक्ति जगाइरहेको छ ।
आमा π लिम्पियाधुराबाट बगेको तिम्रो आँसुले मलाई मभित्रै निथ्रुक्क पारेर भिजाइरहेको छ ।”
हामीसँगै आएका प्रहरीहरू आँसु पुछ्दै रहेछन् रुमाल झिकेर । विद्यार्थीहरू पनि त्यसरी नै । रोक्न सकिनँ मैले पनि आँसु र लगाएको ज्याकेट उचालेर पुछेँ तिनलाई ।
देश आफैँ उठेर मेरै अगाडि उभिएझैँ लाग्यो ।
“हामी पत्रकारहरू कलम चलाइरहने छौँ हाम्रा हातहरू चलुन्जेलसम्म । आज हामी आधा दर्जन पत्रकार यहाँ छौँ । हामी लेखिरहेका छौँ लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको माटो हो । भनिरहेका छौँ यस अतिक्रमणको देशविदेशबाट विरोध भइरहेको छ । भोलि देशैभरिका सबै पत्रकारहरूले यही कुरा लेख्नेछन् । यही कुरा भन्नेछन् । संसारभरिका पत्रकारहरूले पनि यही कुरा लेख्नेछन्, यही कुरा भन्नेछन् — लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालकै माटो हो । राष्ट्रियताको चेतनाको ज्योतिले सिङ्गै देश धपक्कै बल्ने छ । भाग्ने छन् यो नेपाल भूमिलाई पिर्नेहरू । मुस्कुराउँनेछिन् नेपाल आमा आफ्ना प्यारा सन्तानहरूलाई हेरेर ।”
योभन्दा बढि बोलिन म । पानी पिएर बसेँ भुईमा । उठाएँ अलिकति माटो । झिकेँ शिरको क्याप र राखेँ त्यो माटो शिरमा ।
ठाकुर गैरेले त्यही क्याम्पबाट हामीलाई हेरिरहेको भारतीय सेनाको क्याप्टेन बाबुराम गुरुङको नाम लिँदै भने परचक्रीको नुन खाएर नेपाल आमाको आङ काट्ने काम नगर । जहाँ जहाँ सिमानामा विवाद छ भारतले त्यहाँ त्यहाँ गोर्खालीलाई उभ्याउँछ । आफ्नो मूर्खतालाई बहादुरी नठान । भारतीय गोर्खा सैनिकहरूले बोल्ने बेला आएको छ ‘हामी आफ्नै भूमिविरुद्ध उभिँदैनाँै’ । नेपाललाई थाहा छ, भारतलाई थाहा छ, अझ विश्वमै धेरैलाई थाहा छ यो क्षेत्र नेपालकै भन्ने सत्य । तर किन बेइमानी गरिरहेको छ भारत ?”
सभापति मोहन चापागाईँले सभा विसर्जन गरेपछि गगनभेदी नाराहरू घन्किए राष्ट्रप्रेमका । अतिक्रमणका विरुद्ध खुकुरीहरू निकाले विद्यार्थीहरूले र नारा घन्काउँदै प्रदर्शन गरे । बिहानको साढे एघार बजे पुगेको टोलीले करिब दुई घन्टामा आफ्ना कार्यक्रमहरू सक्यो । अब त्यहाँ बस्नुको औचित्य थिएन । गागाबाट ल्याएको एक एक वटा फापरका रोटी र दुई दुईओटा उसिनेका आलु खायाँै फर्कनु अघि । अन्तिममा सबैले ढोगे मातृभूमिको त्यो माटोलाई । कतिजनाले त एक एक मुठी माटो उठाएर राखे गोजीमा । यो भावनाको कुरा थियो ।
म हेरिरहेको थिएँ परपरसम्म अतिक्रमित भूमिलाई । लालायित थिएँ म लिम्पियाधुरामा उभिएको मेरो जोलिङ्काङ पर्वतमाला र आदि कैलाशको अँगालोमा बाँधिन, महाकालीकी आमा ‘विन्तीताल’बाट अन्जुलीभरि पानी उठाएर सिङ्गै शरीर भिजाउँन । म प्यासी थिएँ मेरा गुन्जी, कुटी र नाबीका वस्तीहरूमा दौडन, उफ्रन र आँगन आँगनमा नाच्न । म आतुर थिएँ मेरो लिपुभन्ज्याङ्ग, नाभिडाङ र ब्यास गुफासँग रमाउँन । म ब्याकुल थिएँ ॐपर्वत र प्राकृतिक सुन्दर उपहारहरूले सजिसजाउ यो हिमाली भूतलले मतिरै फर्किएर मुस्कुराउँदै मलाई हेरिरहेको देख्न । म ब्यग्र थिएँ मेरो लिम्पियाधुरामा, मेरो लिपुलेकमा, मेरो कालापानीमा मेरा देश छ भनेर नमेटिने अक्षरहरू लेख्न ।

(लेखक नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस्