Logo

अर्काे लकडाउनको डर



नरेश गुप्ता, वीरगंज,१९,विन्दवासिनी (पर्सा)

देशको एउटा गतिलो आर्थिक केन्द्र मानिने वीरगंज पर्सा जिल्लाको पुर्वी भागमा छ भने सबै गा्रमिण भाग पश्चिम तर्फ छ । तिलावे नदीले वीरगंज र गाउँलाई आर्थिक सामाजिक सबै हिसाबले शहरसँग छुट्याएको छ । अर्थात् गाउँमा विकासको गाडा वीरगंज महानगरबाट तिलावे नदी तरेर मात्र आइपुग्न सक्छ ।
गाउलाई हर हिसाबले शहरसँग जोडने कडी ठानिएको छ वीरगंज महानगरपालिका–१९ मा पर्ने तिलावे पुल । सदर मुकाम केन्द्रित विकास त्यही पुल भएर गाउँ सम्म आइपुग्छ की भन्ने आश सबै गाउँलेलाई छ । दशकौं देखि ग्रामवासीहरु दैनिकी रोजिरोटी लगायतका अनेकौं आशा अपेक्षा पुरा गर्न तिलावे खोला तरेर वीरगञ्ज पुग्नै पर्ने बाध्यतामा छन् । तर लामो समय भयो, वीरगंजबाट र गाउँलाई हुलाकी सडकमार्फत जोेड्ने भनिएको तिलावे पुलले २० वर्ष देखि तिलावे नदीका दुई किनार अहिलेसम्म जोडन सकेको छैन ।
त्यहाँ पुल नभएकै भने होइन । करिब २० वर्षअघि तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाबाट उद्घाटित पुरानो पुल जीर्ण भएर बढ्दो जनसंख्या र सवारी साधन धान्नै नसक्ने भएपछि हुलाकी राजमार्गको स्तरअनुरुप तिलावे नदिमा अर्को पुलको निर्माण सुरु भएको थियो । हुलाकी राजमार्गको काम हुँदाहुदै तिलावे नदिमाअर्को पुल बन्ने कुरा आउँदा गाउँमा खुसीको लहर उठेको थियो ।


हाल कालो सुचीमा रहेका पप्पु तथा लुम्बिनी जे.भि.कन्सट्रकसन कम्पनीले २०७२ सालमा साढे ५ करोडको लागतमा २०७५ सालमा काम सक्ने गरी जिम्मा लिएका थिए । तर तीन वर्षमा त्यो पुलका तीन खम्बा भध्ये एउटा पुरै हालिएको छ भने एउटा खम्बाका सहायक खम्बा मात्र हालिएको छ ।कामको गति यस्तोे हुनु र पप्पु कन्स्ट्रक्सन कालो सूचिमा परेपछि न्यू कान्तिपुर कन्सट्रकसनले २०७६ फागुनदेखि काम थालेको छ ।

यसरी काममा लागेको लक खुलेको केही दिनमै सिंगो देश नै लकडाउनमा गयो । त्यसैको बहानामा अत्यत्र विकास निर्माणको काम हुँदा पनि त्यहाँको काम सुस्तगतिमा चलिरहेको छ । कन्सट्रकसनका सब इन्जिनीयर श्रीराम हमालले फोन सम्र्पकमा भन्नुभयो, अहिले पाँच जना कामदारले काम गरिरहेका छन्। तर नांगो आखाँले देख्न सक्ने गरी पुल निर्माणमा केही प्रगति भएको छैन ।

गजबको कुरा त यो छ, कि नदीमा पुल बनाउन आएका कन्सट्रकसनका कर्मचारी तथा कामदारहरु पुल बनाउने काममा भन्दा माछा समात्ने र त्यसकै विविध परिकार बनाउनेमा व्यस्त रहेको देख्छन्, स्थानीयहरु । तिलावे यस्तो नदि हो जहाँ बर्सै भरी पानी बगिरन्छ र माछा पनि हुन्छ । पुल बनाउन आएकाहरु खोलाको ताजा माछा समात्ने त्यसका परिकारमा बनाउने काम ब्यस्त रहेको उनीहरु बताउँछन् । ‘माछा समात्दै र त्यसका परिकार खाँदै गरुन् ठीक छ तर निर्माण कार्यमा पनि कार्य प्रगती होस्’, एक स्थानीयको भनाइ छ ।

पुल बनाउनेहरु नदीको माछामा भुलिरहँदा स्थानीय भने पुरानो पुलको विकल्पमा ह्युम पाइप हाले बनाएको अस्थाइ पुलमा उडेको धुलो खप्न विवस छन् । नजिकै पर्ने न्यू पन्ना मेमोरियल इङ्गिलश र्बोिडङ्ग स्कूल र मुनिलाल साहको गोठ लगाएत स्थानीयको घर छ । देशभर कोरोनाको डर व्याप्त रहेका बेला यहाँ भने “कोरोनाभन्दा पहिले धुलोबाट विरामी हुने डर छ’ । ‘लकडाउन अघि नै धुलो खप्दै चलिरहेको न्यू पन्ना मेमोरियल इङ्गिलश र्बोिडङ्ग स्कूल लक डाउन पछि पनि चल्न सक्ने अवस्थामा छैन’, विद्यालयका प्रन्सिपल जितेन्द्र साह भन्नु हुन्छ ।
केही अघि गाउँलेको नुहाउने थलो तिलावे नदिका दुवै किनारमा फोहर फालिएको छ भने कुखुरा फार्मले फैलाउने दुर्गन्धले स्थानीय मात्र नभई आउने जाने यात्रीहरुलाई पनि सास्ती खेप्नु परेको छ । नेपालको संविधानको भाग–३ मा मौलिकहक र कर्तव्य अन्तर्गत धारा ३० मा व्यवस्था भएको स्वच्छ वातावरणको हक त्यहाँ खोसिएको कुरा स्थानीय लगायत कुनै पनि तहको सरकारले देख्छ न त सञ्चार माध्यमले नै ।

अहिले सम्म नबनेको कुरा अब वर्षायाममा बन्छ भने आशा पनि छैन गाउँलेलाई । विश्रामपुरका बिजय यादव जस्ता धेरै स्थानीयहरु लकडाउनको सास्ती जसतसो काटिरहेका छन् । यादवले २ कठ्ठामा लगाएको तरकारी बिक्री नभएर त्यसै नष्ट भयो । छिटै पुल संचालनमा नआए उहाँ जस्ता थुपै स्थानीय उद्यमीले जीवन धान्नकै लागि क्रणमा

डुब्नु पर्ने अवस्था हुन्छ । बैकिल्पिक उपाय अपनाएर सवारी साधन तिलावेको वार पार राम्ररी गर्न नसके स्थानीयहरु कारोना भाइरसले भन्दा भोकमरीले मर्नु पर्ने अवस्था सृजना हुने बताउँछन् । किनकी पक्का छ, वर्षायाम शुरु भएपछि अहिलेको कमजोर डाइभर्सनलाई नदिले बगाउँछ त्यसपछि अर्को लकडाउन शुरु हुन्छ,पर्साका ग्राम बासीहरुको । रोजीरोटीको बाटै बन्द हुने स्थिति आउनु भन्दा पहिले नै पुल चलोस् भन्ने ठान्नु आकाशको फल जस्तै भएको छ अहिले ।

प्रतिक्रिया दिनुहोस्