Logo

भर्चुअल कक्षा अनलाइन पढाइमात्र होइन



देशमा कति विद्यार्थीसँग इन्टरनेटसहितको कम्प्युटर छ, कतिसँग इन्टरनेट सहितको मोबाइल छ, कतिसँग कम्प्युटर मात्रै छ, कतिसँग टेलिफोन छ? कतिसँग इन्टरनेट छैन तर रेडियो र टेलिभिजन छ कति सँग रेडियो मात्रै छ र कति विद्यार्थीसँग इन्टरनेट, रेडियो र टेलिभिजन आदि केही पनि छैन?

 

कोभिड १९ले मुलुक लकडाउनमा रहेका बेला पठन पाठनसँग विद्यार्थीलाई जोडी राख्न इन्टरनेट प्रविधि प्रयोग गर्नेे उपायले १० प्रतिशत विद्यार्थीलाई पनि समेटन नसक्ने सम्बद्ध व्यक्तिहरुले बताउन थालेका छन् । यसको सट्टा बहुुविधि अपनाउनु पर्ने सुझाव विज्ञहरुले दिन थालेका छन् ।

भर्चुअल कक्षाका लागि निजी विद्यालयलाई केही सक्षम ठानिए पनि कसरी सुरु गर्ने ? कसरी प्रभावकारी बनाउने र सबै विद्यार्थीसम्म पुग्ने भन्ने कुराबारे ति विद्यालय समेत अन्यौलमा छन् । निजी विद्यालयहरुको संगठन प्याब्सनका उपाध्यक्ष डि के ढुंगानाका अनुसार अहिले विद्यार्थीलाई पढाइसँग जोडी राख्न भर्चुअल कक्षाबाहेक अरु कुनै विकल्प छैन । ‘तर यसका लागि शिक्षक विद्यार्थी र अभिभावकलाई समेत तयार गर्नुपर्छ’, उहाँको भनाई छ । देशभर निजी स्वामित्वमा सञ्चालित विद्यालयको संख्या करिब २० हजार र विद्यार्थी २३ लाख रहेको दावी प्याब्सनको छ ।

सुरुवातमा वार्षिक परीक्षाको नतिजाहरु पठाएर भर्चुअल कक्षाको अभ्यास गरिएको छ । परीक्षा नतिजा जस्तै गरी पाठ्य सामग्री पनि अनलाइन सन्देशका रुपमा पठाउन सकिने वा विद्यार्थी र शिक्षकबीच कुनै ढंगले अन्तक्रिर्या स्थापित गर्न सकिन्छ भन्ने उपायको खोजी निजी विद्यालयहरु गरिरहेका छन् ।
कोरोनाको महामारी सुरु हुनु पुर्व देखि नै एपहरु मार्फत गृहकार्य सूचना आदि पठाइरहेको कीर्तिपुरको पुष्पसदन माध्यमिक विद्यालयले अनलाइन कक्षाको विकल्प खोजेको छ ।

सँस्थापक अध्यक्ष महेश श्रेष्ठ अनलाइन कक्षाले ३० प्रतिशत विद्यार्थीमात्र सहभागी भएपछि विकल्पमा एप नै प्रयोग गरिएको बताउनुहुन्छ ।‘एपमा पढनुपर्ने कुरा पठाउने र नबुझेकु कुराका लागि सम्पर्क गर भनेर शिक्षकको फोन नम्बर पनि राखिदिने तरिका अपनाउन थालेका छौं’
लगभग सबै अभिभावक र विद्यार्थी इन्टरनेटको पहुँचमा रहेको धापाखेलस्थित जेम्स विद्यालयका सँस्थापक निर्देशक राजेश खड्का पनि अनलाइन कक्षा सोचे जस्तो सजिलो नभएको बताउँनुहुन्छ । विद्यार्थीसँग भनिएको समयमा मोबाइल र इन्टरनेट नहुन आदि कारणले प्रत्यक्ष कक्षामा पठाए जस्तो बुझाउनसमेत नसकिने उहाँ बताउनुहुन्छ ।

‘त्यसमाथि गत चैतमा वार्षिक परीक्षा सकिएपछि घर गएका कतिपय विद्यार्थी र शिक्षक उपत्यका बाहिर छन्’ । जेम्स विद्यालयले वैशाख ७ गते देखि अभिभावक र विद्यार्थीसँग इन्टरनेटमार्फत सम्पर्क गर्न थालेको हो । ‘इन्टरनेट र कम्प्युटर पाएको अवस्थामा माध्यमिक तहका विद्यार्थीले पाठ्यसामग्री गहण गर्न र पढन सक्छन भने आधारभूत तहका बालबालिकालाई अभिभावकको मार्गदशन आवश्यक छ’ । यसबाहेक भर्चुअल कक्षाका लागि अभ्यस्त हुन विद्यार्थी र शिक्षक दुवैले धेरै कुरा सिक्नुपर्ने पनि सँस्थापक निर्देशक खड्का बताउनुहुन्छ ।

यि र यस्तै विद्यार्थीसम्म कसरी पाठ पुर्याउने ?

निजी स्वामित्वका विद्यालयकै यस्तो हालत रहेको बेला निरक्षर अभिभावकका विद्यार्थीसमेत पढाइ रहेका सार्वजनिक विद्यालयका लागि त भर्चुअल कक्षा अझ परको विषय बन्न पुगेको छ । विद्यार्थी संख्या र नतिजामा धेरै पटक राष्टिय स्तरकै पुरस्कार पाएको चन्द्रागिरी नगरपालिकास्थित बलम्बु माविका प्रधानाध्यापक सुमन राउत बताउनुहुन्छ । ‘अभिभावकहरु सम्पर्कै मा छैनन् एक दुई जनाले के हुँदैछ भनेर सोधेका पनि छन् तर अधिकांश विद्यार्थी फोन सम्पर्कमा समेत छैनन्’ । यद्यपी भर्चुअल कक्षा चलाउने उपायहरुको खोजी तथा पहल गर्न चन्द्रागिरी नगर पालिकाको पहलमा त्यहाँका निजी र सार्वजनिक विद्यालयका तीन जना प्रतिनिधि रहने गरी समिति बनाइएको छ । ‘इन्टरनेटको कुरा छोडौं अघिकांश अभिभावकसँग एन्रोइड फोन समेत नभएको अवस्थामा हामीलाई आमरुपमा भर्चुअल कक्षा चलाउने भन्दा अरु विकल्प खोज्नु राम्रो हुन्छ भन्ने जस्तो लाग्छ उहाँको भनाई छ’ ।

शिक्षाविद् विद्यानाथ कोइराला इन्टरनेटको कनेक्सनलाई मात्र भर्चुअल कक्षा मान्ने सोचाईबाट मुक्त भएर बहु उपायको खोजी गर्नुपर्ने बताउनु हुन्छ । ‘देशमा कति जनासँग इन्टरनेटसहितको कम्प्युटर छ, कति जनासँग इन्टरनेट सहितको मोबाइल छ, कतिसँग कम्प्युटर मात्रै छ, कतिसँग टेलिफोन छ? कतिसँग इन्टरनेट छैन तर रेडियो र टेलिभिजन छ कति सँग रेडियो मात्रै छ र कतिसँग इन्टरनेट, रेडियो र टेलिभिजन आदि केही पनि छैन, यि सबलाई अलग अलग व्यवस्था गर्नु ठीक हुन्छ’, उहाँको निश्कर्ष छ ।

अर्थात् विद्यार्थीको जुन माध्यममा पहुँच छ, त्यो माध्यम प्रयोग गरेर उ समक्ष पाठ्यसामग्री पठाउनु ठीक हुने पनि उहाँ बताउनुहुन्छ । ‘जहाँका विद्यार्थीसँग केही पनि छैन, त्यहाँ स्थानीय निकाय परिचालन गरेर नजिक शिक्षकलाई परिचालन गर्न सकिन्छ’, कोइराला भन्नुहुन्छ । पोखरा र स्यांग्जामा त्यस्ता उपाय अवलम्बन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

शैक्षिक क्षेत्रमा सर्वत्र यसबारे बहस सुरु भएका बेला सरकारले खुल्ला विश्वविद्यालयका उपकुलपति डा. लेखनाथ शर्माको अध्यक्षतामा यसबारे अध्ययन गर्न समिति गठन गरेको छ । ‘लकडाउन खोलिएपछिको अवस्थामा के गर्ने? लकडाउन लम्बियो भने के गर्ने ? भन्ने विषयका साथै अनलाइन शिक्षा कसरी भन्ने कुराको अध्ययन गरेर यसले प्रतिवेदन दिएपछि मन्त्रालयले नीति बनाउने छ ’, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले घामछायाँलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्