Logo

एसो गरे कसो होला ?



भिन्न भिन्न परिवार र परिवेशबाट आएका एउटा कक्षाका विद्यार्थीहरुमा समानता खोज्नु गलत हुन जान्छ । अध्यापनको एउटै शैली र विधि द्वारा सबै विद्यार्थीले समान रुपमा सिकून् भन्ने हाम्रो सोच पनि गलत हो ।

धनञ्जय शर्मा अधिकारी

कक्षामा सबै विद्यार्थी एकनासका हुँदैनन् । एउटै कक्षामा फरक फरक जाति, भाषा, संस्कृति, परम्परा, धर्म रितिस्थिति, मूल्य मान्यता र फरक फरक पारिवारिक पृष्टभूमि भएका विद्यार्थीहरु हुन्छन् । हरेकको आर्थिक हैसियत पनि फरक हुन्छ । सिकाइ सक्षमता पनि सबैमा समान हुँदैन । सबै बाल बालिकाको समान रुचि नहुन सक्छ । एउटालाई मन पर्ने रङ्ग अर्कोलाई मन नपर्ने, एउटालाई मन पर्ने खाजा अर्कोलाई मन नपर्ने । उही शिक्षकलाई कक्षाका केही विद्यार्थीले मन पराउने र बाँकीले मन नपराउने अवस्था हामीले देखेकै छौँ ।
एउटै वस्तु वा व्यक्तिलाई हेर्ने, बुझ्ने र ग्रहण गर्ने दृष्टिकोणमा भिन्नता भएकोले यसो हुन गएको हो । यो स्वाभाविक पनि हो । हाम्रो सानो परिवारमा समेत छोरा छोरी मध्ये फरक फरक स्वभाव, सोच, रुचि भएको पाउँछौँ । छोरा छोरी सबैमा समान सिकाइ सक्षमता पनि नभएको पाउँछौँ । भिन्न भिन्न परिवार र परिवेशबाट आएका एउटा कक्षाका विद्यार्थीहरुमा समानता खोज्नु गलत हुन जान्छ । अध्यापनको एउटै शैली र विधि द्वारा सबै विद्यार्थीले समान रुपमा सिकून् भन्ने हाम्रो सोच पनि गलत हो ।
कुनै एउटा कक्षामा शिक्षकले व्याख्यान विधिको प्रयोग गरेर पढाइरहनु भएको छ । तर कक्षाका सबै विद्यार्थी ध्यान दिएर सुनिरहेका हुँदैनन् । परस्पर खासखुस गरिरहेका छन् । चलिरहेका छन् । कोही चित्र कोरिरहेका छन् । कोही अर्कै विषयको किताब पल्टाइरहेका छन् । कोही टोलाइरहेका छन् । कोही ध्यान दिएर सुनिरहेका छन् । सबै विद्यार्थी आफ्नो प्रवचनमा ध्यान मग्न नभएको पाए पछि शिक्षकलाई दिक्क लाग्छ । अलि अलि रिस पनि उठ्छ । धारा प्रवाह प्रवचन रोकिन्छ । उहाँ विद्यार्थीलाई कक्षा अनुशासनको उपदेश दिँदै डाँट डपट गर्न थाल्नु हुन्छ । ध्यान नदिने, खासखुस गर्ने विद्यार्थीलाई सजाय दिन समेत तत्पर भइदिनु हुन्छ । ४५ मिनेटको घण्टी आधा प्रवचनमा, आधा डाँट डपट र उपदेशमा सिध्दिन्छ । आफूले पढाएको विषयवस्तु कक्षामा कति विद्यार्थीले सुने, कतिले सुनेनन् । कतिले बुझे कतिले बुझेनन् । बुझ्नेले कसरी बुझे, के बुझे भन्ने कुरातिर शिक्षक ध्यान दिनुहुन्न । उहाँले सिङ्गो कक्षालाई सम्बोधन गरेर सोध्नुभयो “तिमीहरुले बुझ्यौ ?” कक्षाका केही विद्यार्थबाट आवाज आयो – “बुझ्यौँ सररबुझ्यौँ मिस ।”
शिक्षक कक्षाबाट बाहिरिनु भयो । आफ्नो कक्षा कति प्रभावकारी रह्यो वा रहेन भन्ने बारे उहाँले एक पटक पनि मनमा सोच्नु भएन । कक्षामा महसूस गरेका समस्या बारे अरु शिक्षकसँग कुनै चर्चा गर्नु भएन । न त प्र.अ.सँग नै परामर्श गर्नु भयो ।
भोलिपल्ट पनि निर्धा्रित घण्टीमा उहाँ कक्षामा प्रवेश गर्नु भयो । कालोपाटीमा पाठको शीर्षक लेख्नुभयो र विद्यार्थीहरुतिर फर्केर सोध्नुभयो – “हिजो मैले दिएको गृहकार्य र्गयौ ?” एक तिहाइ विद्यार्थीको आवाज आयो –“र्गयौँ सररमिस ।”“ल ! आफ्नो अगाडि कपि राख ।” शिक्षकको निर्देशन मुताबिक विद्यार्थीहरुमा सानो हलचल भयो । सर्र सुर्र कपि झिकेको आवाज आयो । उहाँ प्रत्येक बेञ्च नेर पुगेर कसले अगाडि कपि राकेको छ, कसले राखेको छैन भनेर सर्सर्ती हेर्नुभयो । एक दुई ओटा कपि उठाएर यसो पाना पनि पल्टाउनुभयो । तर कसैको पनि कपि जाँच्नु भएन । राम्रो नराम्रो ठीक बेठीक पनि भन्नु भएन । खालि अगाडि कपि छ कि छैन? यत्ति मात्रै हेर्नुभयो । अन्तिम बेञ्चमा विनय बसेको थियो । उसको अगाडि कपि थिएन । “ख्वै गृहकार्य, किन नगरेको ?” शिक्षकले सोध्नुभयो । गर्न भ्याइन सररमिस !” विनयले नम्रता सात जबाफ दियो । “पढाउने बेलामा ध्यान दिएर सुन्नु छैन, अहिले बहाना बनाउँछ ।” शिक्षकले दुबै कान समातेर नराम्ररी निमोठ्दै उचाल्नु भयो । सहन सकुञ्जेल उसले सहेकै थियो तर असह्य भएपछि आफ्नो हातले कान छुटाउन विनयले अशफल प्रयाश र्गयो । विनयको प्रयाशलाई शिक्षकले अपराध ठाने । र थप्पडै थप्पड वर्षाउन थाले । सिङगो कक्षा नै भयभीत भयो । सबैका अनुहार नीला काला देखिए । कक्षामा शिक्षकको पूर्ण प्रभुत्व कायम भयो । तर उनको अनुहार अहिले पनि उद्विग्न नै थियो । उनको यो घण्टी सजाय, डाँट डपट र उपदेशात्मक निर्देशनमा टुङ्गियो । निर्धा्रित पाठमा प्रवेशै गर्न भ्याएनन् ।
शिक्षक कक्षामा पूर्ण अशफल रहे । यो कुरालाई उनले भने महसुस नै गरेनन् । उनलाई लाग्यो – विद्यार्थीहरु अनुशासनहीन हुँदै गएका छन् । पढाइमा पनि उनीहरुको ध्यान छैन् । उनले आत्म समीक्षा गरेनन् । मेरो अध्यापन शैलीमा, प्रस्तुतिमा वा विद्यार्थीसँग गर्ने व्यवहार र बोली बचनमा कुनै कमी पो छ कि ! यस्तो प्रश्न उनका मनमा उठ्दै उठेन । “मैले यो तरिकाले पठाएँ, अब यसलाई बदलेर अर्को तरिका अपनाउँदा राम्रो हुन्छ कि ! मेरा विद्यार्थी मैले कसरी पढाओस् भन्ने चाहन्छन् । मैले कसरी पढाउँदा उनीहरु खुसी होलान् । कक्षामा रमाइलो र सिकाइ अनुकूल वातावरण कसरी निर्माण गर्न सकिएला ।” यस्तो चिन्ता र चासो शिक्षकमा भइदिए मात्र कक्षाकोठाका समस्या पहिचान गर्न सकिन्थ्यो र समाधानको बाटो पहिल्याउन सजिलो हुन्थ्यो ।
दुई दिनपछि थाह भयो विनयको घरमा बुवा आमा बीच प्रायस् ठाकठुक भइरहन्छ । हिजो पनि बुवा आमा बीच कुनै बिषयलाई लिएर भनाभन भएको रहेछ । बा(आमा बीचको चर्काचर्कीले मानसिक तनाव उत्पन्न भई उसले गृहकार्य गर्न नसकेको रहेछ । त्यस दिन गृहकार्य नगर्ने विनय मात्र होइन रहेछ । अरु नौ जनाले पनि गृहकार्य गरेका रहेनछन् । शिक्षकले गृहकार्य माग्दा अर्कै बिषयको कपि अगाडि राखी शिक्षकलाई झुक्याएका रहेछन् । शिक्षकले राम्ररी नहेरीदिने गरेकोले उनीहरु झुक्याउन पल्केका रहेछन् । तर शिक्षकको सजायबाट झुक्याउनेहरु जोगिए, साँचो बोल्ने विनयले सजाय पायो । तेस्रो दिन शिक्षकले यो वास्ताविकता त थाहा पाए तर यसलाई महत्व दिएनन् । अन्जानमा विनयलाई अन्याय भएकोमा माफी पनि मागेनन् । उस प्रति कुनै सहानुभूति पनि देखाएनन् । उसका अभिभावकलाई डाकेर अभिभावकको भूमिकाबारे सम्झाउने तत्परता पनि देखाएनन् । यो दिनको कक्षामा उनले यत्ति भने – “तिमीहरुले मलाई झुक्याएछौ । मैले सबै थाहा पाएँ । झुक्याउनेहरु सबलाई मैले चिनेको छु । पख ! म प्रधानाध्यापकलाई भनेर तिमीहरुलाई खुर्र्मुयाउँन लगाउँछु ।”
साथीहरु कक्षामा रहेका विद्यार्थीहरुलाई हामी काँचो माटो सरह ठान्छौँ र इँटा पार्ने साँचोमा झैँ एउटै आकार प्रकार र एउटै ढाँचामा ढाल्न चाहन्छौँ । हामी आफ्नो साँचोमा ढाल्न उनीहरु माथि बल जफ्ती गर्छौँ । उनीहरुको स्वाभाविक विकास र सिकाईमा बाधा र्पुयाउँछौँ । यसलाई हामी आफ्नो अधिकार ठान्छौँ । यहिँनेर हामी गल्ती गरिरहेका हुन्छौँ । वास्तवमा कक्षामा रहेका सबै विद्यार्थी समान हुँदैनन् । उनीहरुको सिक्ने, सोच्ने, बुझ्ने र गुन्ने तरिका पनि फरक फरक हुन्छ । कुनै विद्यार्थी सुनेर सिक्न सक्छन् । ती कक्षामा ध्यान दिएर सुनिरहेका हुन्छन् । कुनै विद्यार्थी हेरेर सिक्न सक्ने हुन्छन् भने कुनै विद्यार्थी गरेर सिक्न चाहन्छन् । सुनेर सिक्नेलाई प्रवचन विधिले केही हदसम्म काम गर्ला । तर हेरेर, छोएर, छामेर र प्रयोग गरेर सिक्न सक्ने र चाहने विद्यार्थीले तपाईंको व्याख्यानमा ध्यान दिँदैनन् । यसको अर्थ तिनीहरु पढ्न, सिक्न र जान्न अनिच्छुक भने पटक्कै होइन । हाम्रो शिक्षण विधिले उनीहरुलाई जिज्ञासु बनाउन नसकेको हो । उत्प्रेरणा जगाउन नसकेको हो । उनीहरुलाई सिक्नका लागि तत्पर गराउन नसकेको हो ।
कक्षामा आपसमा खुसखुश कुरा गर्ने विद्यार्थीलाई कहिले काहीँ सम्बध्द विषयवस्तुमा बोल्न दिए होला कि ! चित्र कोरेर बस्नेलाई तत् विषय सम्बन्धी चित्र कोर्न लगाए पनि हुँदो हो । चार्टहरु बनाउन प्रोत्साहित गरे के हुन्छ ? छामेर, छोएर र गरेर सिक्न चाहनेलाई तत् विषयसँग सम्बन्धित शैक्षिक सामग्री संकलन, निर्माण र प्रयोगमा जोड दिए के होला ? हाउ भाउ, अभिनय र संवाद गर्न लगाए कसो होला । कक्षामा “म मात्र बोलिरहूँ, विद्यार्थी सुनिरहून्” को सट्टा विद्यार्थीलाई पनि बोल्ने मौका दिए कसो होला । मैले मात्र होइन विद्यार्थीहरुले पनि जानेका छन् भन्ने यथार्थलाई बुझेर शिक्षकले विद्यार्थीलाई सिक्ने सिकाउने अवसर दिए के होला ? यो विषयमा विद्यार्थीहरु के सोच्दा रहेछन् । यसबारे उनीहरुको धारणा के रहेछ ? भनेर बुझ्ने जमर्को गरे कसो होला ! आफू सहजकर्ता बनेर विद्यार्थीहरु बीच छलफल चलाइदिए के होला ।

कहिले काँही विद्यार्थीहरुलाई खेत बारी, वन पाखा, नदी नाला, खोला खोल्सा, गुफा, गाउँघर सहर बजार घुम्न लगाउने र योजना कार्य दिने गरे के होला ? र पहिले नै कार्य तालिका दिएर सातामा एक दुई घण्टी विद्यार्थीलाई पढाउन दिए कसो होला । भोलि पाठ नपढ्ने कथा सुन्ने सुनाउने पालो भनेर कथा भन्न लगाए के बिग्रेला । होइन, पर्सि कविता सुनाउनु पर्छ तिमीले जस्तो जान्दछौ त्यस्तै कविता लेखेर ल्याऊ । अँ ! कविता राम्रो, नराम्रो, लामो, छोटो जस्तो भए पनि हुन्छ अनि जुन विषयमा लेखे पनि हुन्छ भन्दिए कसो होला । ‘हरेक महिनाको पहिलो शुक्रबार गीत गाउने पालो’(जस्तो सुकै र जुनसुकै भाकाको भए पनि हुन्छ । तर सकेसम्म सबैले गाउन पर्छ है ! भन्दा के होला । तपाईँलाई शैक्षिक सामग्री बनाउन अल्छी लाग्छ । केही छैन, विद्यार्थीलाई नै बनाउन लगाएर प्रयोग गर्दा के हुन्छ । कक्षामा प्रवेश गर्दा हँसिलो अनुहार, प्रशन्नचित्त भएर गीत गुनगुनाउँदै पस्ता के होला । कहिले काहीँ कम्मर मर्काएर कक्षामा तपाईँ नै नाचिदिँदा के फरक पर्छ ।
गृहकार्य नगर्ने, नियमित स्कुल न आउने, कक्षामा चकचक गर्ने, कक्षा कार्यमा कम सहभागिता जनाउने विद्यार्थीलाई कक्षामा सबै साथीहरुका अगाडि सजाय दिने र डाँट डपट गर्नुको सट्टा एक्ला एक्लै बोलाएर सहानुभूति पूर्वक सम्झाए कसो होला । उनीहरु किन गृहकार्य गर्दैनन्, किन नियमित हुँदैनन्, उनीहरुको समस्या के हो ? समस्याको पहिचान गरेर समस्या समाधानमा शिक्षकले सहयोग गरे के बिग्रिएला । गृहकार्य गर्न आएन भन्नेलाई चिन्ता न गर, म छदै छु, म तिमलाई सिकाइदिइहाल्छु । तिमीले थोरै थप मिहिनेत गरे जानिहाल्छौ । तिमीसँग बुध्दि नभएको कहाँ हो र ! भनिदिँदा के फरक पर्छ । विद्यार्थी आफैँमा कमजोर हुँदैनन् । बुध्दि नभएका पनि हुँदैनन् । उनीहरुलाई उपयुक्त वातावरण दिए पुग्छ । हाम्रो हौसला र प्रेरणाले त्यसले चमत्कार गर्न सक्छ भन्ने कुरा शिक्षकले राम्ररी बुझिदिए कति राम्रो होला ।
विशेषतस् कक्षामा कमजोर देखिएको, अनुत्तीर्ण भएको विद्यार्थी शिक्षकको हेपाइमा पर्दो रहेछ । साथी भाइले पनि त्यसैलाई हेप्दा रहेछन् । अभिभावकको डाँट डपट पनि त्यसैलाई पर्दो रहेछ । हाम्रो माया, सहानुभूति र सहयोगको वास्तविक हकदार त कमजोर विद्यार्थी नै हो । कमजोर विद्यार्थीलाई माया, सहानुभूति, सहयोग, हौसला र प्रेरणा दिएर हेरौँ न के हुँदो रहेछ ।

प्रतिक्रिया दिनुहोस्