मदन भण्डारीको त्यो अन्तिम वैचारिक बहस

सन्दर्भ : ७१ औं मदन जन्मजयन्ती



मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा म उहाँको सम्मानपुर्वक स्मरण गर्न चाहन्छु । त्यसो त उहाँसँग मेरो राजनीतिक संगत त्यति लामो भने होइन । सुरुमा उहाँसहित हामी सबै नेकपाको पुष्पलाल समूहसँग आबद्ध थियौं । २०२८ साल पछि उहाँले त्यो समूहसँग विद्रोह गरेर झापाली समूहसँग आबद्ध हुनुभयो र कोअर्डिनेसन केन्द्र हुँदै माले बनाउनेतर्फ लाग्नुभयो । म चाहीँ पुष्पलाल समूहमै थिएँ जसको नेतृत्व पुष्पलालको निधन पछि मनमोहन अधिकारीले गर्नुभएको थियो हामीबीच २०४७ सालमा एकता भएर नेकपा एमाले बनेपछि देखि २०५० साल जेठ ३ गते उहाँको निधनबीचको झन्डै ३ वर्षको अवधि हामीबीच सांगठनिक हिसाब कै सम्बन्ध रह्यो ।
उहाँसँग मेरो पछिल्लो राजनीतिक संवाद २०५० साल जेठ २ गते सम्पन्न पार्टीको दोस्रो कास्की जिल्ला अधिवेशनबाट फर्किने क्रममा गाडी भित्र भएको थियो। जुन उहाँको जीवनकै अन्तिम राजनीतिक संवाद बन्न पुग्यो । त्यसअधिवेशनमा उहाँ नेकपा एमालेको पाँचौ राष्टिय महाधिवेशनबाट पारित कार्यक्रम जनताको बहुदलीय जनवादलाई कार्यकर्ताबीच स्थापित गराउने र त्यसबारेमा उठेका प्रश्नहरुको जवाफ दिने उद्देश्यले एक महिने योजना बनाएर पुग्नुभएको थियो । म चाहीँ गण्डकी अञ्चल सचिवालय सदस्यको हैसियतले त्यहाँ पुगेको थिएँ । अधिवेशन सकिए पछि केही व्यवहारिक कारणले समेत म गोरखा फर्किन लागेको थिएँ । मदनले सँगै जाउँ भन्ने कुरा गर्नुभयो । गाडीमा चालक अमर लामा र सँगैको अघिल्लो सिटमा मदन बस्नुभयो पछिल्लो सिटमा जीवराज आश्रित र म बस्यौं ।
मदनले पाँचौ महाधिवेशमा परित गराउनुभएको र त्यसबेला देशभरका कार्यकर्तालाई यसबारे बुझाउँन हिँडदै गरेको कार्यक्रमसँग मेरो राजनीतिक र वैचारिक विमति थियो । अहिले पनि मलाई त्यो कार्यक्रम मास्र्कवाद संगत छैन भन्ने लाग्छ । त्यसबारे भएका थुप्रै बैठकहरुमा मैले नोट अफ डिसेन्ट लेख्ने गरेकोँ थिए। किनकी मलाई त्यो कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट पारित राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमकै डेन्टिङ पेन्टिङ लाग्छ ।
तर त्यतिबेला बैठकमा जे जस्तो भनिए पनि कार्यकर्ता माझमा वा तल्लो कमिटिमा जाँदा पार्टी लाइन मानेर हिँडने अनुशासन हामीसँग थियो । अहिले जस्तो मनपरी बाहिर बोल्दै हिँडने पारा त्यतिबेला थिएन । त्यसैले मैले कास्किको महाधिवेशमा पार्टीलाईन विपरित कुरा केही पनि गरिन ।
गाडी स्टार्ट गरेर हिँडेको केही बेरपछि चालक लामाले त्यसको क्यासेटमा ‘गो यांकी गो होम…..’ बोलको गीत बजायो । पेरुमा तत्कालिन माओवादी पार्टी साइनिङ पाथको समर्थमा नेपालमा बनाइएको गीत हो त्यो । गीत बजेपछि जीवराज आश्रित्ले मतर्फ इंगित गरेर ‘ गीत उग्रबामपन्थी भावको बज्यो नी’ भन्नुभयो त्यसपछि हामी बीच वैचारिक बहस छेडियो । मैले महाधिवेशनले पारित गरेको नीतिबारे आफ्ना विमती राखेपछि अघिल्लो सिटमा बसेका मदन पनि पछाडी फर्कनुभयो र कुरा सुरुभयो । मैले त्यतिबेला पुर्वी युरोप र रुसमा कम्युष्निट सत्ता ढलेको कुराबाट तर्सिएर हतारमा तपार्इँहरुले यो कार्यक्रम ल्याउनुभयो भनेँ । उहाँले भने पौराणिक पात्र जडभरतको उदाहरण दिँदै परिस्थिति बदलिएको थाहा पाउनु पर्ने जिकिर गर्नुभयो र केही मानिसहरु वीरबलले खिचडी पकाएकै शैलीमा बाँसको टुप्पमा कसौंडी झुण्डाएर क्रान्ति हुन्छ भनिरहेको तर्क समेत राख्नुभयो। प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरा थप गरिएको र सारमा आफ्नो कार्यक्रम नयाँ जनवादी क्रान्तिकै कार्यक्रम भएको उहाँको कुरा थियो ।
मैले सहमति जनाउन सकिन र ‘यो कार्यक्रमले नेपालको साम्यवादी आन्दोलनलाई भिरबाट खसाल्ने छ’, भने । त्यसो भने पछि उहाँले ‘त्यो गाडीका चालक हामी नै हौं, भिर तिरै जान लाग्यो भने मोडेर जोगाउँला नी’ भन्नुभयो । जबजलाई पार्टी महाधिवेशनबाट पारित गराउँदा कतिपय उहाँ भन्दा जेष्ठ र पार्टी सदस्यता उहाँ भन्दा पहिल्यै पाएकाहरुले बल्ल तल्ल स्वीकारको अवस्था थियो । ‘सबै चित्त नबुझे पनि एउटै गुट परियो के गर्ने’ भन्दै बाध्यताबस मदनको पछि लाग्नेहरु थिए । उहाँमा भने पारित कार्यक्रमप्रतिको दृढ विश्वास प्रष्ट झल्किन्थ्यो । त्यो बहसको क्रममा पनि उहाँमा त्यो दृढता र आस्था देखिएको सम्झन्छु ।
यसरी पोखराबाट दमौली तिर आइपुग्दा हामीबीच झन्डै डेढ घन्टा वैचारिक बहस पछि हाम्रो बहस गोरखाको सागठिनिक अवस्थातर्फ मोडियो । काँग्रेस र माओवादी पुर्वको नेकपा मसालको दबदवा रहेको गोरखामा एमालेको अवस्था कमजोर नै थियो । कार्यकर्ताको व्यवस्थापन गर्नुपर्ने थियो । संगठन बनाउनका लागि राजनीतिक प्रशिक्षक पुर्व नै कमिटिमा राखिएका कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने कुरा थियो । नयाँ र पुराना, खुल्ला गतिविधिमा अभ्यस्त भइसकेका र भूमिगत अवस्थाबाट भर्खर खुल्लामा आएका कार्यकर्ताबिचको समन्वयको कुरा थियो । कमिटिको आर्थिक व्यवस्थापनको कुरा समेत थियो । समग्रमा मसालको आक्रामक राजनीतिसँग जुझदै संगठन निर्माण गर्नुपर्ने चुनौति थियो । हामीबीच यससम्बन्धी कार्ययोजना बनाउृने र मदन र जीवराजको एक महिने अभियान सकिएपछि गोरखामा पार्टी नेतृत्वको समेतको उपस्थितिमा कार्यक्रम गर्ने र संगठन निर्माणलाई गति दिने सहमति भएको थियो । मदन भण्डारीलाई गोरखा पुग्ने र त्यहाँ गोरखाकाली रबर उद्योग निरीक्षण गरेर देशको औद्योगिकरणको सम्भावनालाई पर्घेल्ने धोको थियो । म गोरखा जानका लागि आँबुखैरनीमा ओर्लिँदा सम्म हामी गोरखामा संगठन अघि बढाउने कुरामा केन्द्रित भएका थियौं ।
दासढुंगा दुर्घटना पछि सिंगो पार्टी शोकलाई शक्तिमा बदलौं भन्ने अभियानमा केन्द्रित भएका कारण तत्काल केन्द्रीय नेतृत्वसहितको कार्यक्रम त हुन पाएन तर संगठन निर्माण रफतारमा अघि बढेको थियो । विस्तारै एमालेको संगठन बलियो हुँदै जाँदा २०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सभापति जित्नसक्ने गरी एमाले पहिलो दल बनेको थियो । त्यतिबेला गोरखामा नेपाली काँग्रेसले ९ सय ८७ सिट जित्दा एमालेले एक हजार १२ सिट जितेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका कट्टेलसँग हालै गरिएको कुराकानीमा आधारित –प्रस्तुती रूपेश आचार्य



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ : निजी विद्यालयको छाता संगठन प्याब्सनले आइटि फेडेरेसन नेपाल र पुस्तकालय विकास फोरमको सहकार्यमा आगामी ३ वर्ष भित्र पुस्तकालय

सानोठिमीः सरकारले विद्यालय शिक्षालाई व्यवस्थित गर्न चार वटा प्रमुख मापदण्डहरु ल्याउने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले

असार २१, पर्सा । समाजिक विकृती दहेज प्रथा,लैङ्गिक विविधता र बाल विवाहलाई मुल मुद्धा बनाई निर्माण भएको भोजपुरी फिल्म ‘जुल्मी

नेकपा एमाले अध्यक्ष केपी ओलीले मलको विषयमा सरकारले अल्मल्याउने काम मात्रै गरिरहेको बताउनुभएकोे छ। पार्टी निकट अखिल नेपाल किसान महासङ्गको