Logo

छालसँग पानी जहाज जुधाउँदै छन् नेपाली पाइलट




सिड्नी हावर्डका पानी जहाज पाइलट कैलाश पाण्डे
देशमा अहिले पानी जहाजको बहस छ । तर कतिलाई थाहा होला नेपालीहरु अर्थात् समुद्रहीन देशका नागरिक अहिले नै पानी जहाज चलाइरहेका छन् । पानी जहाज कोशी वा नारायणी बाट जाहाज चलोस् नचलोस्, समुन्द्रले कतैबाट पनि नछोएको देश नेपालबाट अस्ट्रेलियामा पुगेर पानी जहाजको पाइलट एक नेपाली हुनु आफैमा आश्चर्यको विषय हो ।
अस्ट्रेलियामा समुन्द्री जहाज देखेपछि पाइलट बन्ने हुटहुटी सुरु भयो उनमा । त्यसपछि त्यही समुन्द्री जहाजको वेटरबाट काम थालेका तिनै नेपाली अहिले समुन्द्री जहाज चलाइरहेका छन् । आखिर कसरी सम्भव भयो वेटरदेखि पाइलटसम्मका उनको यात्रा?
समुन्द्र नै नभएको देशको नागरिक पनि पानी जहाजको क्याप्टेन बन्न सक्छ होला ? अस्ट्रेलिया आएको शुरुका दिनहरुमा कैलाश पाण्डेको मनमा यो प्रश्न आइरहन्थ्यो । ग्रीष्मको उखरमाउलो गर्र्मीमा शीतल हावासँगै सिड्नी हार्वरको नीलो समुन्द्रमा जहाज तैरिरहेको देख्ने पाण्डेले एक दिन आफू पनि जहाजको क्याप्टेन बन्ने सपना बुनिसकेका थिए । संसार नै आर्थिक मन्दीको चपेटाले थला परेको बेला सिड्नीको पर्यटकीय आकर्षण हावर्डमा साँझमा चाँडै नै सुनसान हुन्थ्यो । काम खोज्ने सिलसिलामा सधैँ हावर्ड पुग्ने पाण्डेले एक क्रुज कम्पनीमा वेटरको जागिर पाए । यो नै पाण्डेका लागि मनमा बुनेको सपना पूरा गर्ने आधार बन्यो । जहाजमा वेटर बनेर घण्टौँसम्म पानीमा तैरिरहँदा उनी भने हार्वडमा आउने साना ठूला जहाजकोरुट, आकार प्रकार र प्रविधिको बारेमा बढी रुचि राख्थे । उनलाई भाग्यले पनि साथ दियो । क्रुज कम्पनीले दिने मरिनतर्फको तीन महिने तालिममा पाण्डे पनि छानिए ।

प्रिसी भनिने यो कोर्षमा समुन्द्रमा हुने आपतकालीन उद्धारबारे तालिम दिइन्छ । उनले क्वान्टस वेसमा अग्नि नियन्त्रण, प्राथमिक उपचार, पानीमा लामो समय कसरी बाँच्नेलगायतका तालिम लिएका थिए । यी तालिमपछि उनले पानी जहाज क्याप्टेनको निकट सहयोगीका रूपमा काम गर्ने अवसर पाए । नेपालका साना कुला र खोल्सामा छ्याप्पछ्याप्प गर्दै पौडी खेल्न जानेका पाण्डेको अहिले अधिकांश दिन समुन्द्रमा तैरिएर बितिरहेका छन् । समुन्द्रका सार्क, हृवेल तथा डलफिनका साथै पहाड झैँ अग्ला छालसँगै लड्दै चार हजार घण्टा काम गरेपछि फेरि उनले अर्को तालिमको अवसर पाए ।
मिलनसार, मिहनेती र सहयोगी स्वभावका पाण्डेको कार्यशैलीलाई मूल्याङ्कन गर्दै उनी कार्यरत कम्पनीले उक्त तालिमका लागि टेफमा भर्न गरिदियो । ‘मास्टर्स फाइभ’ भनिने यो कोर्स पानी जहाजको पाइलट बन्ने आधारभूत विषय थियो । सिड्नी पोर्ट अथोरिटी र जल यातायातसम्बन्धी निकायमा मौखिक परीक्षा र स्थानीय पोर्ट, वे र हावर्डसम्बन्धी थप ज्ञान लिएपछि पाण्डे पानी जहाजको क्याप्टेन भएका हुन् । योसँगै पानी जहाजको इञ्जिन र अन्य प्राविधिक विषयमा पनि पाण्डेले ज्ञान राखेका छन् ।
कैलास अथवा क्याप्टेन ब्रहृम
अस्ट्रेलिया आएको छ वर्षमा कैलाश पाण्डेको पेशा मात्र होइन नाम पनि परिवर्तन भएर क्याप्टेन ब्रहृम भएको छ । आफ्नो टिमलाई सजिलो होस् भनेर उनले डच भाषाको ब्रहृम नाम राखेका हुन् । अस्ट्रेलिया आउनुअघि पाण्डे व्यवस्थापनको विद्यार्थी थिए । पाल्पा पुख्र्यौली घर भएका पाण्डेको बाल्यकाल भने बुटवलमा बित्यो । कैलाशका बुबा रामचन्द्र पाण्डे स्थानीय स्तरमा सामाजिक कार्यमा सक्रिय छन् । दुई वर्षअघि उनका दाई अस्ट्रेलिया घुम्न आउँदाको क्षण सम्झदै पाण्डे भन्छन्, ‘नेपालमा डुङ्गा पनि नचलाएको भाइले यहाँ पानी जहाज चलाएको देखेर दाइ त अचम्मित हुनुभयो।’ उनले दाइलाई दुई दिनसम्म पानी जहाजमा राखेर सिड्नी हावर्ड र वरपरका समुन्द्री किनार घुमाएका थिए। उनीसँग अहिले जहाजमा काम गर्ने नेपालीको ठूलै समूह छ । कोही भान्छामा काम गर्छन्, कोही बारमा त कोही वेटरको रूपमा काम गरिरहेका छन् । नेपालीको काम प्रतिको मेहेनत र इमान्दारितालाई सबैले मन पराउँदा र प्रशंसा गर्दा असाध्यै गर्व लाग्ने पाण्डे बताउँछन् ।
युनिभर्सिटी अफ क्विन्सल्याण्डबाट मास्टर्स इन एकाउन्टिङ गरेका पाण्डे अब एकाउन्टेन्ट बन्ने कल्पना नै गर्दैनन् । बरु उनलाई सयौं यात्रु बोकेर संसारको यात्रामा निस्कन मन छ । महिनौंसम्म जमिनबाट टाढा पानीमै हराउन चाहन्छन् उनी । निकै उत्साहित हुँदै पाण्डेले भने, ‘छ हजार यात्री बोक्ने क्विन मेरी वा त्यो भन्दा पनि ठूलो जहाजहरु चलाउने लक्ष्य छ’।
अहिले पानी जहाजकै मास्टर फोरको पढाइ गरिरहेका उनी अध्ययन सकिएपछि पश्चिम अस्ट्रेलिया गएर काम गर्न चाहन्छन् । पर्थमा बसेर यहाँका बहुराष्ट्रिय खानीहरूमा इन्धन ओसार्ने जहाज चलाउँदै छन् उनी । सिड्नीमा भन्दा १० गुना बढी कमाई हुने भएकाले पनि उनको रोजाइमा पर्थ परेको हो अहिले ।

साहस र जोखिम

सिड्नी हावर्ड संसारको दोस्रो ठूलो प्राकृतिक हावर्ड हो । सौन्दर्यको हिसाबले पहिलो स्थानमा आउँछ । संसारकै ठूलो फेरी टर्मिनल पनि हो । अस्ट्रेलिया घुम्न आएका पर्यटकमध्ये अधिकांश एक पटक यो स्थानमा पुगेकै हुन्छन् । यस्तो सुन्दर ठाउँमा काम गर्न पाउँदा पाण्डे खुशी छन् । तर उनको पेशामा सबैभन्दा ठूलो सत्रु हावा हुने गरेको छ । हावा चल्न थालेपछि समुन्द्रमा ठूल ठूला छाल उठ्छन्, जसले यात्रालाई निकै कष्टकर बनाउँछ । सबैभन्दा लामो २८ घण्टासम्म एक्लै जहाज चलाएका पाण्डे आफूसँगै यात्रा गर्ने यात्रुलाई आफू नेपालबाट आएको बताउँदा विश्वास नगर्ने गरेको बताउँछन् ।

उनीहरू सबैको प्राय एउटै प्रश्न हुन्छ, ‘समुन्द्र नै नभएको देशको मान्छे कसरी पानी जहाजको पाइलट भयो?

ऋषि आचार्य
प्रतिक्रिया दिनुहोस्