१८ मंसिर २०७८, शनिबार

गाउँ झकमक्क तेलको दीयोले, शहर धपक्क विजुलीका बल्वले



 

घरका ढोकाहरुमा तेलका धारा । मूल ढोकामा जल र फूलले भरिएका तामाका कलश । गाइको गोवरले लिपिएको आँगन । सेतो कमेरो र रातो माटोले लिपेका भित्ताहरु । घरको वरीपरी निम्वुको पातबाट गांसेका दुनाटपरी र केराको मचेटा र ठडेउराहरुमा लहरै पालेका दिपहरु ।

शहरमा त देख्नै नपाइने गांउमा पनि कताकति मात्र देख्न पाइने तिहरको मौलिक दृश्य हो यो । यता शहरमा भने दिपावलीले सबैका घर झकमक्क भएका छन् । झिलिमिली वत्ति र फुलमालाले झकिझकाउ शहरमा बेग्लै उमंग छाएको छ । शहरमा झिलमिलाएका विद्युतिय दिपहरुले शहर भरि उज्यालो छरेसंगै हाम्रा मौलिक संस्कृति वोकेका तामा र माटाका पालाले दिएको उल्यालो भने मलिन हुदै गएको छैन ।

मातातीर्थकी ६३ वर्षिय डोलमायाले आफ्नै गाउँमा वाजेका पालादेखि बाल्दै आएका तामाका पालाहरुमा चम्किएका दिपहरु झलझली सम्झिरहेकी छिन । त्यसैले शहरभरी झकमक्क भएका झिलीमिली विद्युतिय दिपले उनको मनमा उज्जालो दिन सकेका छैनन् । उनी भन्छिन् “तामाको पालाभरि तोरीको तेल राखेर घरको तहरा देखि भण्डार सम्म लहरै बालिएका दिपको जस्तो उज्यालो यी विजुलीका वल्वमा बलेका झिलीमिली वत्तिहरुले दिन सकेका छैनन् । ”

एक वर्षअघि पाल्पावाट काठमाडौं आएकी तिलकुमारीलाई गाउँमै मनाएको तिहार रमाईलो लागेको छ । गोवर र माटोले लिपेको घरभरी तामाका पालामा जलाईएको दिप सम्झदै उनले भनीन् — यहाँपनि गाउँमा जस्तै आफैले रोपेको फूलले पुज्दै र आफ्नै हातले कातेका कपासका वत्ति तामाको पालामा राखेर जलाउन पाए मात्र तिहार मनाए जस्तो लाग्थ्यो । उनले यहाँ पनि आफ्नै गाउँमा जस्तै गाईको गोबर माथि तामाका पालाहरु सजाइ दिपावली गर्ने तयारी पनि गरेकी थिइन् । तर उनका नातीनातीनाले बजारका झिलीमिली बत्ति मात्र रोजेपछि उनको तयारी अपुरै रह्यो । बजारमा पाइने झिलीमिली वत्तिहरुमा उनका नातिनातिला ले त भरपुर रमाइलो गरेका छन् । तर भने यो निरस नै लागेको छ ।

फूल र तेलका दिपहरुले स्वागत गरी मनाउनुपर्ने तिहारलाई शहरमा नयाँ शैलीवाट मनाएको उनलाई पटक्कै मन परेको छैन । यसरी चाडपर्वको मौलिकता नै विर्सेर एकछिनको रमझमको लागि तडकभडकगरी चाड नमनाउन उनी आग्रह गर्छिन ।

काठमाडौकी विना मानन्धरलाई पनि आफू सानो छँदा नेवारी संस्कृति अनुसार मनाउने दिपावली रमाइलो लाग्छ । भन्छिन् —“म सानो छँदा सबै दिदिबहिनी जम्मा भएर तिहारका पाँचओटै रातहरुमा घरभरी माटाका र तामाका पाला, ठड्यौला, पानस तथा केराका मचेटाहरुमा तेलका वत्ति बाल्थ्यौं । गाउँभरी नै उज्यालो हुन्थ्यो । तर अहिले त बिजुली बाट बजारीया झिलीमिली वत्ति धेरै बाल्न थाले । तर मलाइ त माटाका पालामा तोरीको तेलले लहरै बालेको मन पर्छ । पहिले देखि चलेको रित अनुसार लक्ष्मीपूजा, म्ह पूजा, गोवर्धन नगरेसम्म तिहार मनाए जस्तै लाग्दैन ।”

अहिलेको पुस्ता भने परम्परागत शैली र मौलिक पहिचान बोकेका चाडपर्वलाई परिस्कृत तथा आधुनिक शैली बाट फेशनको रुपमा मनाउने तर्फ केन्दित छ । यसरी पर्व मनाउँदा कतिपय शैलीले परिवर्तन र विकासको सन्देश दिएपनि अधिकांश कृयाकलापले चाडपर्वको मौलिक पहिचान गुमाएका छन । यस्ता शैलीले चाडवाड मनाउने नाउमा विकृति भित्रिने सम्भावना पनि बढाएका छन् । अहिले शहरलाई झकिझकाउ पारेको दिपावली पर्वले पनि यसको मौलिक पहिचानलाई ओझेलमा पारेको देखिन्छ ।

यतिवेला काठमाडौं रंङ्गिचंङ्गि विद्युतिय वत्ति र मैनवत्तिले धपक्क बलेको छ । फुलमालाले झकिझकाउ भएको छ । एकातिर यसले विकशीत शैली भित्र्याएको छ भने अर्कोतिर दिपावलीको खास पहिचान र मौलिकता गुमाएको छ । दिपावलीको पहिचान बोक्ने तामाका पालामा बलेका तेलका दिपहरु मुस्किलले देख्न पाईन्छ । विद्युतिय वत्ति र मैनवत्तिले विकाशको सन्देश दिन्छन भने तामाका पालाहरुमा तोरीको तेलवाट बालेका वत्तिले नेपालको सामाजिक रहनसहन, परम्परा र मौलिकता दर्शाउछन् ।

खासगरी शहरी परिवेशमा मनाउने दिपावलीले सांस्कृतिक तथा आर्थिक दुई क्षेत्रमा फरकफरक असर पारेको छ । परिवर्तित शैलीमा मनाउने दिपावलीले एकातिर व्यतिmको जीवनस्तरमा परिवर्तन र व्यवसायीक क्षेत्रको विकास भएको सन्देश दिएको छ भने अर्कोतिर सांस्कृतिक क्षेत्रको महत्व सागँुरो पारीदिएको छ ।

यस पर्वले काठमाडौमा विद्युतिय झिलीमिली वत्तिको व्यापार गर्नेहरुलाई राम्रो कमाइ गर्ने अवसर जुटाइदिएको छ । दिपावलीमा तामाका पालाको व्यापार भने घट्दै गएको छ । चार बर्ष देखि कलंकीमा बिजुलीका वल्ब र भिलीमिली वत्तिको व्यापार गर्दै आएका सन्त कार्की भन्छन् — “प्रत्येक बर्ष तिहारको बेला बिजुलीका झिलीमिली वत्तिको व्यापार दोब्बर हुदै गएको छ ।” यसपटक दिनमा २८ हजार सम्मको व्यापार भएको उनले बताए ।
सन्तले जस्तै तिहारको बेला राम्रो कमाई गर्छन् नैकापका मैनवत्ति व्यापारी रामलाल श्रेष्ठ ले पनि । उनले तिहारको बेला मैनवत्तिको व्यापारबाट दैनिक १६ हजार सम्मको व्यापार गरेको अनुभव सुनाए ।

नँया ढंगले दिपावली मनाउदा यिनीहरुलाई त फाइदा भयो । तर मौलिक पहिचान बोकेका तामाका पाला हरुको व्यापार भने घट्दो छ । असनका भाँडा व्यापारी विनोद जोशीले भने — ‘पहिले त पालाको राम्रो व्यापार हुन्थ्यो तर यसपटक निकै कम मात्र भएको छ ।’ उनले अहिले दिनको ६० सय देखि १ सय ५० दर्जन पालाको बिक्री भएको बताए । छ बर्ष अघि तिहारको समयमा दिनको २ सय देखि ४ सय दर्जन पाला सम्म बेचेको उनको अनुभव छ । तिहारको बेला यस्ता पाला किन्न अधिकांश वृद्धाहरु आउने गरेको उनले बताए । यसले हाम्रो संस्कृति बोक्ने पालाहरुमा वृद महिलाको मात्र आर्कषण रहेको र नयाँ पुस्ताले पुरानो संस्कृति विर्सिसकेको सन्देश दिन्छ ।

नेपालमा सर्वप्रथम प्रयोगमा आएको धातु तामाको पनि अहिले निकै कम प्रयोग हुन थालेको छ । तामाका पालाहरुलाई माटाका पालाले विस्थापित गरेका छन् । हिन्दू धर्ममा विभिन्न धार्मिक संस्कारमा तामालाई पवित्र धातु मानेर पूजामा तामाकै पाला, कलश प्रयोग गर्छन । पण्डीत शेषकान्त उपाध्याय तामाका पात्रहरु मा भगवान विष्णुको बास हुन्छ र यसको प्रयोग गरि गरिएका धार्मिक कार्यले घरमा शान्ति,संवृद्धि र वैभव प्राप्त हुने बताउनुहुन्छ । उहाँका अनुसार मौलिक संस्कृति जोगाइराख्न सबैले रिती र विधीपूर्वक धार्मिक कार्य गर्नुपर्छ ।