६ असार २०७८, आईतवार

दुव्र्यसनी महिला झनै जोखिममा



यसपुरकी रोमा अन्सारी (२७) ले १४ वर्षको उमेरमै प्रेम विवाह गरिन् । विवाहपछि मात्र थाहा पाइन् कि उनका पति लागुऔषधका कारोबारी रहेछन् । भारतको रुपैडिहाबाट लागुऔषध (ब्राउन सुगर) ल्याएर बेच्थे । रोमा पतिकै कारण लागुऔषध खान थालिन् । व्यापार गर्न पतिको सहयोगी बनेकी उनले केही पछि ब्राउन सुगर र सुईको समेत प्रयोग गर्न थालिन् ।
सेवनको बानी परिसकेकाले रोमालाई हरेक दिन लागुऔषध चाहिन्थ्यो । दैनिक कम्तीमा पाँच सय रुपैयाँँ जुटाउनुपथ्र्यो । पतिको कारोबारले गुजारा चल्दै थियो । तर, अकस्मात् प्रहरीले पतिलाई पक्राउ गरेपछि रोमाको आयको बाटो थुनियो । त्यसपछि सजिलो पैसा कमाइको बाटो देहव्यापार गर्न थालिन् । ‘गाह्रो काम केही गर्न सक्दिनँ, माल नखाई बाँच्नै मुस्किल,’ उनी भन्छिन्, ‘नचाहँदा नचाँहदै पनि गलत कदम उठाइयो ।’ अहिले उनी जयसपुरमै आफूजस्तै लागुऔषध प्रयोगकर्ता महिलासँग बस्छिन् ।
नेपालगन्जकी ४५ वर्षीया रिना साई आफ्ना दौँतरीहरूभन्दा निकै बुढी देखिन्छिन् । अनुहार पूरै चाउरी सकेको छ । न राम्रोसँग बोल्न सक्छिन्, न हिँडडुल गर्न । राम्रोसँग उभिनसमेत नसक्ने भएकी उनलाई वयस्क अवस्थामै यो हालत बनाउने पनि लागुऔषध नै हो ।
सानै उमेरमा ब्राउन सुगर खान थालेकी रिना पतिबाट सुई लगाउन सिकिन् । पतिले छाडेपछि एक छोरीकी आमा उनले छोरी पाल्ने र ब्राउन सुगर किन्ने पैसा जुटाउने सजिलो बाटो देहव्यापार रोजिन् । करिब २७ वर्षदेखि लागुऔषध सेवन गर्दै आएको बताउने उनको दैनिकी छोरीको भागी बिहेपछि देहव्यापारमै बित्यो । पटकपटक गर्भपतन गराएकी उनी एचआइभी संक्रमितसमेत छन् । ‘सबकुछ गुमाइसकेँ’ भन्ने उनी अहिले लागुऔषध प्रयोगकर्ताको क्षेत्रमा काम गर्ने संस्था ‘चेन्ज टिम’को संरक्षणमा छन् ।
कोहलपुरकी नीता सुनार (२८) पतिले सुई लगाएको देखेपछि कस्तो हुँदोरहेछ भन्ने जान्ने प्रयास गर्दागर्दै दुव्र्यसनी बनिन् । पतिले आफ्ना लागि किनेको ‘डोज’ दुईजनाले बाँडेर खाएको थाहा पाएपछि बा–आमाले दुवैलाई घरबाट निकालिदिए । कारकाँदोमा डेरा गरेर बस्न थालेपछि उनीहरूलाई दैनिक गुजारा चलाउन र लागुऔषधको जोहो गर्न मनग्ये पैसा चाहिन थाल्यो । पतिको रिक्सा चालकको कमाइले नपुगेपछि नीताले पनि रोमा र रिनाको बाटो रोजिन् ।
नेपालगन्जका मात्रै होइन देशैभरका धेरै लागुऔषध प्रयोगकर्ता महिला देहव्यापारमा लाग्न बाध्य हुन्छन् । गृह मन्त्रालयसँगको सहकार्यमा संयुक्त राष्ट्रसंघको नेपालस्थित लागुऔषध र अपराध नियन्त्रणसम्बन्धी कार्यालय (युएनओडिसी)ले गरेको एक अध्ययनले लागुऔषध प्रयोगकर्ता महिलामध्ये २७ प्रतिशत देहव्यापारमा लागेको देखाएको छ । १४ फेब्रुअरीदेखि १९ मार्च २०१० सम्म काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, मोरङ र सुनसरीमा गरेको सर्भेक्षणमा यौन व्यवसायमा लागेका लागुऔषध प्रयोगकर्ता महिलामध्ये ७० प्रतिशतले यो व्यवसाय आफूहरूको जीविकोपार्जनको एक मात्र स्रोत भएको बताएका थिए ।
३९३ लागुऔषध प्रयोगकर्ता महिलामा गरिएको सर्भेक्षणमा मोरङमा सबभन्दा बढी ८७.१, त्यसपछि रुपन्देहीका ६१.९ प्रतिशतले यौन व्यवसायमा लागेको बताएका थिए । सेप्टेम्बर २०१० देखि मे २०११ सम्म काठमाडौं उपत्यकामा ‘लागुऔषध प्रयोगकर्ता महिलामा एचआइभी संक्रमणको जोखिम’ शीर्षकमा गरिएको अध्ययनले ‘महिला दुव्र्यसनी एउटै सुई धेरैजनाले प्रयोग गर्ने भएकाले मात्र नभई असुरक्षित यौन व्यवहारले पनि एचआइभीको जोखिममा छन्,’ भनेको थियो ।
केन्द्रीय तथ्यांक विभागले गृह मन्त्रालयसँगको समन्वयमा ०६३ र ०६९ मा नेपालका लागुऔषध प्रयोगकर्ताबारे गरेको अध्ययनले झन्डै ७ प्रतिशत महिला प्रयोगकर्ता रहेको देखाउँछ । १८ जिल्लामा गरिएको अध्ययनले ०६९ मा ९१ हजार पाँच सय ३४ लागुऔषध प्रयोगकर्तामा ६ हजार तीन सय ३० महिला रहेको देखाउँछ । जबकि ०६३ को सर्भेले ४६ हजार तीन सय नौ लागुऔषध प्रयोगकर्ता रहेकोमा तीन हजार तीन सय ३५ जना महिला देखाएको थियो । ०६९ को सर्वेक्षणअनुसार चार हजार ५० दुव्र्यसनी रहेको बाँकेमा एक सय ७४ महिला छन् ।
कोहलपुरकी नीता र उनका पतिले अचेल मेथाडोन खान्छन् । नीताले मेथाडोन खान थालेपछि अन्य लागुऔषध नखाएको बताइन् । पति रिक्सा चलाउने दैनिक काममै खटिएका हुन्छन् । ‘श्रीमान्ले पहिले लागुऔषध खान्थे भन्ने समाजले बिर्सन थालिसक्यो,’ उनी भन्छिन्, ‘तर मलाई अझै पनि वेश्या भन्न छोडेको छैन । मैले अझै शिर झुकाउनु परिरहेको छ ।’ त्यस्तै अनुभव छ जयसपुरकी रोमाको पनि । रोमा भन्छिन्, ‘म सीप सिकेर काम गर्न चाहन्छु, । तर, यसले नसा खान्छे भन्ने थाहा पाएकाले कसैले कामै दिदैनन् ।’
लागु पदार्थ प्रयोगकर्ता महिलामा पुरुषमा भन्दा जटिल र भिन्न समस्या निम्तने विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता महिलाबाट समयअगावै बच्चा जन्मने, कम तौल हुने, कहिलेकाहीँ गर्भपतन हुने, कुपोषित, सुस्त मनस्थितिको बच्चा जन्मने समस्या देखिन्छन् । जसले दोस्रो पुस्तालाई पनि असर पु¥याउँछ ।
युएनओडिसीको अध्ययनले लागुऔषध प्रयोगकर्ता महिला सामाजिक बहिष्करणमा परेको, साझा सुईको प्रयोग इन्कार गर्न नसक्ने अवस्थामा रहेको, समूहमा हुँदा सुई प्रयोगको पालो अन्तिममा आउने, लागुऔषध किन्न आत्मनिर्भर हुन नसक्नेजस्ता कारणले उनीहरूमा जोखिम बढी रहेको औँल्याएको छ । साथै महिलाहरू ‘शारीरिक र यौनजन्य शोषणमा पर्ने, लागुऔषध कारोबार गर्ने, भरियाका रूपमा ओसारपोसार गर्ने र देहव्यापारका लागि बाध्य पारिने गरेको’ उक्त अध्ययन प्रतिवेदनको निष्कर्ष छ ।
बाँकेमा लागुऔषध प्रयोगकर्ताको क्षेत्रमा काम गर्ने ‘चेन्ज टिम’ संस्थाकी ‘महिला काउन्सिलर’ रूपा देवकोटा लागुऔषध प्रयोगकर्ता महिलाले समाजमा पुरुषले भन्दा बढी समस्या झेल्नुपरेको बताउँछिन् ।
नेपालगन्जमा चरम गरिबीबाट गुज्रिरहेका महिला लागुऔषधको सिकार भएका छन् । उनीहरू विभिन्न पुनस्र्थापना केन्द्रमा जाने, उपचार गराउने, उच्च शिक्षा लिनेजस्ता अवसरबाट वञ्चित छन् । त्यसैले सरकारले नै उनीहरूका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताउँछन् लागुऔषध पुनस्र्थापना केन्द्र साहरा हाउसका अध्यक्ष अभिराज क्षेत्री ।
रोकथाम र हेरचाहका अधिक कार्यक्रम पुरुष केन्द्रित छन् । जसका कारण त्यस्ता कार्यक्रम महिला प्रयोगकर्तासमक्ष पुग्नै सकेका छैनन् । महिला पुनस्र्थापना केन्द्रको अभाव त्यसैको उदाहरण हो । ‘महिला काउन्सिलर’ रूपा देवकोटा महिलालाई समाजमा पुनस्र्थापना गर्न विशेष कार्यक्रम चाहिने बताउँछिन् ।
युएनओडिसीले सर्भेक्षणमा ‘तिमीलाई सरकारले के गरी सहयोग गर्नसक्छ ?’ भनेर सोधिएको प्रश्नमा ४०.१ प्रतिशतले सरकारले रोजगारी दिनुपर्ने बताएका थिए भने ३०.१ प्रतिशतले निःशुल्क उपचार सुविधा र १८.४ प्रतिशतले समाजको सकारात्मक धारणा पाउनुपर्ने धारणा राखेको प्रतिवेदनमा उल्लेख छ ।
(सञ्चारिका फिचर सेवा)
(तुफान, हिमाल खबरपत्रिकाका संवाददाता हुन् )