Logo

जीवन भरिएका जरा र डाँठ



शेखर अधिकारी
एकदिन बाँसको झ्याङ फाँडेर जरा उखाल्नका लागि एक्साभेटेर बोलाएर जरा उखाल्न लगाउँदै थिएँ । त्यसैबेला परबाट एकजना सुकिलामुकिला ब्यक्ति नजिक आएर हेर्न थाले । जराहरू उखालिँदै थिए, उनले मतिर हेर्दै भने, ‘भाई म एकदुईवटा जराहरू लिएर जाउँ ?’ म अचम्म मान्दै उहाँतिर हेरेँ र हुन्छ भन्दै मुन्टो हल्लाएँ । उहाँले नजिकै रहेको बोरा टिप्नुभयोे र एक एक गर्दै मैले फाल्न लागेका जराहरू त्यहाँभित्र हाल्न थाल्नुभयो ।


मैले कौलुहलताका साथ सोधेँ, ‘यो जरा लगेर के गर्नुहुन्छ ? आफूलाई त कता लगेर फाल्नु जस्तो भएको छ ।’ मेरो प्रश्नको जवाफ दिनुको साटो उहाँले मुस्कुराउँदै ‘१०–१५ दिनपछि भेट्नु न बताइहाल्छु नि के गर्न लागेको’ भन्दै आफ्नो बाटो लाग्नुभयो । त्यसो भएको त्यस्तै १५–२० दिनपछिको कुरा हो बारम्बार नेपालीलाई दुःख दिने नेपाल बन्दको दिन थियो । यातायात चलाउन नदिइएपछि आफ्नो कामका लागि पैदल हिँडनुको विकल्प थिएन । म हिँड्दै थिएँ, बाटो छेउको घरबाट आवाज आयो ‘भाइ –भाइ’। आवाज आएतर्फ हेरेँ, उहाँ त्यहि जरा लाने दाई हुनुहुदो रहेछ । हात हल्लाउँदै मलाई बोलाई रहनुभएको थियो म खुरुखुरु उहाँको घरमा गएँ । उहाँ मलाई त्यही मैले बल्ल बल्ल तह लगाएका बाँसका जरा देखाउँदै हुनुहुन्थ्यो ।
ति काम नलाग्ने जरालाई उहाँले खरायो,जरायो,कछुवा, परेवा आदि पशुपंक्षीका सुन्दर रूप दिइसक्नुभएको रहेछ । म त्यो देखेर मन्त्रमुग्ध भएँ। ओल्टाइपल्टाई त्यो पहिलाको बाँसको जरा र अहिले आकृति कुँदिएको जराको फरक केलाएँ र उहाँको कामलाई मनमनै सलाम गरेँ । एउटा उखान याद आयो ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ । त्यस उखान बाँसका जरा भरी चरितार्थ भएको देखियो त्यस दिन । ति दाजु अर्थात् ४५ वर्षीय एरिक महतले मलाई असामान्य कलाको सुन्दरतासँग साक्षातकार गराइनदिनु भएको थियो ।
त्यो दिन मलाई कामको हतारो परेकोले उहाँसँग विदा मागेर हिँडेँ । राति निदाउनुअघिसम्म उहाँको कलाकृति दिमागमा आइरहेको थियो । भोलीपल्ट बाँसका जराका कलाबारे सम्पूर्ण कुराको जानकारी लिन जाने निश्चय गर्दै सुतेँ । भोलिपल्ट बिहान म एरिक दाईसँग भेट्न गएँ उहाँसँग कलायात्राको बारेमा सोधेँ, ‘कसरी सुरु भयो तपाईँको काम ? उहाँले कुमारजीले अगस्त्य मुनीलाई श्रीस्वस्थानीको कथा बेलीबिस्तार गरेझैँ यसरी आफ्नो कला यात्राको वर्णन गरे ।
उहाँले करिब सात वर्षअगाडि आफ्नो कामको सिलसिलामा दार्जलिङ पुग्दा बाँसले बनाएको टेबुल ल्याम्प देखेकारहेछन् । त्यो ल्याँम्प उनलाई यति आर्कषक लागेछ कि आफूले पनि एउटा त्यस्तै टेबुल ल्याँम्प बनाउने निश्चय गर्न पुगेछन् । फर्केर घरमा आउनेबित्तिकै अम्बाको रुखको हाँगाबाट त्यस्तै टेबल ल्याँम्प बनाए । परिवार सदस्यबाट आहा ! कति राम्रो ल्याँम्प भन्ने सुन्न पाउँदा पनि हौसला नै बढेको रहेछ । घरमा पाहुना आउँदा प्रायले सोध्थे, ‘कति चिटिक्क परेको ल्याँम्प कहाँबाट ल्याएको?’ । एरिक दंग पर्दै उत्तर दिन्थे, ‘मैले आफैं बनाएको होे’ । यस्तै प्रोत्साहानका शब्दले उनलाई आफू भित्रपनि कला भएको अनुभूति दिलायो । यसरी रहरै –रहरले आफ्नो कलायात्रा सुरुवात भएको एरिकले सुनाए ।
विभिन्न ठाउँको यात्राको क्रममा भेटिएका बाँसका जरा, अम्बा, बकैना, काँडाको डाँठहरू जम्मा गरि त्यसबाट माछा ,सर्प,मयुर, बकुल्ला, हात्ति, घोडा, घोरल,मृग डल्फिन आदि जनावर तथा चराचुरुङ्गिका आकृतिहरू बनाउन थाले एरिक । मानिसको इच्छाअनुसार बिभिन्न जातको प्रतिनिधित्व गर्ने खालका ब्यक्तिका आकृतिहरू र देवताहरू जस्तै गणेश र बुद्ध आदिका आकृति पनि उनले बनाएका छन् । जलचर, थलचर र उभयचर सबै किसिमका जनावर ,पशुपंक्षी तथा किरा फट्याङग्रासमेत जरा र डाँठबाट बनेका छन् । उनको कला संग्रह भएको ठाउँमा पुगेर हेर्दा कुनै अन्यत्रको ग्रहमा आइपुगेको जस्तो लाग्छ ।
बाँसको जरा तथा रुखको डाँठले मात्र एरिकको कला मन भरिएको छैन । विस्तारै उनी सल्लाको गाँठो,अण्डाको के्रट, च्याउका पात ,फूलका पात आदि बस्तुहरू प्रयोग गरि अत्यन्त मनमोहक आकृतिहरू बनाउन तल्लिन हुन थालेका छन् । ‘कोईलाको खानीबाट नै हीराको जन्म हुन्छ’ भनेझैँ काम नलाग्ने ठान्दै फालिएका बस्तुलाई पनि एकाग्रता, लगन र परिश्रमबाट जीवन्त कलामा परिणत गर्न सकिन्छ भन्ने उदाहरण पस्कन सफल भएकोमा गर्व गर्छन् एरिक ।
नारायण गोपाल चोकबाट केही उत्तरपट्टि जाँदा केही मिटर अगाडि दाहिने मोडिँदा मन्डिखाटार जाने बाटोमा आफ्नै घरको सटरमा शो–रुम बनाई बिक्रिबितरण र प्रचारप्रसार गर्दै आएका छन् । बजारमा पाईने अरु सजावटका सामानहरू भन्दा सस्तो,टिकाउ र कलात्मक हुने हुँदा उपहार दिन तथा सजावटका लागि ग्राहकहरूको माग बढिरहेको बताउँछन् एरिक महत । मासिक ३० देखि ३५ हजारसम्म आम्दानी हुनेगरेको र प्रर्दशनिमा आफ्नो सामानहरू २ देखि ३ लाखसम्म ब्यापार हुनेसमेत महतले बताए ।

भियतनाम र अफगानिस्तानमा यस्तै कलाहरू विश्व प्रसिद्ध भएका छन् तर आफूले बनाएका त्यस्तै कलाकृतिहरू विदेशमा प्रचारप्रसार र निर्यात गर्न नसकिरहेको असन्तुष्टी एरिकलाई छ । नेपालमा भन्दा १० गुणा बढि मूल्यमा बिक्रि गर्न सकिने आफ्नो कलाकृति कुनै ब्यापारी वा अन्तर्राष्ट्रिय गैह्र सहकारी संस्थामार्फत विदेश निर्यात गर्ने सोचमा रहेको बताउनुभयो ।
सैद्धान्तिक शिक्षाको पनि आवश्यकता नपर्ने र फुर्सदको समयमा आफ्नो वरिपरि भएका सग्ला तथा खेर गइरहेका वस्तुहरूमा अलिकति सीप ,परिश्रम र लगानी गरिदिए अहिलेका युवालाई दुव्र्यसनबाट पनि टाढा राख्दै आम्दानीसमेत दिलाउँछ । यसले कामका लागि विदेश जानुपर्ने समस्याबाट समेत मुक्ति दिलाउने भएकाले आजका युवाहरू अमूल्य जीवनको सदुपयोग गर्न सक्ने सन्देश पनि एरिक महतका कामले दिएका छन् ।
उहाँको सबै कुरा सुनिसकेपछि बिदा हुने बेलामा मलाई पनि आफ्नो पाँच वर्ष पुग्न लागेका छोरीको जन्मदिनका लागि उपहारस्वरुप एक मयुरको आकुति भएको सुन्दर आकृति लिन मन लाग्यो । विशेष छुटसहित किनिएको त्यो मयुर छोरीले जन्मदिनमा पाएको उपहारहरूमध्ये सबैभन्दा बढि मनमोहक उपहार बन्न पुग्यो । उनले त्यो मयुर कति मन पराईन भने खाँदा ,बस्दा, हिँड्दा यहाँसम्म कि सुत्दापनि हातैमा लिएर सुतिन् । स–साना बालबालीकाहरूलाई समेत लोभ्याउने उनको कला साँच्चै नै प्रशंसायोग्य छ ।

प्रतिक्रिया दिनुहोस्